
काठमाडौं मंसिर २४ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदै छ ।
चार हजार सात सय प्रतिनिधिले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
उद्घाटनका लागि भृकुटीमण्डपको प्रांगणमा एक सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत उपस्थिति हुने भएका छन् ।
विगतमा केन्द्रीय महाधिवेशनबाट पार्टीको नीति तथा कार्यक्रम पनि छलफल गरेर अनुमोदन गर्ने गर्दथ्यो । तर, यसपटक तोकिएको समयभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले कांग्रेसले नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय थियो ।