धादिङको त्रिपुरासुन्दरी कप फुटबलको आज दोस्रो दिन ७ खेल हुने

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १८, २०७८

धादिङ मंसिर १८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित न्यु त्रिपुरासुन्दरी युवा क्लब (Ntyc Club Dhading)  र त्रिपुरासुन्दरी मन्दिर संरक्षण समितिले त्रिपुरासुन्दरी माईको मेलाको अवसरमा आजबाट १० औं न्यु त्रीपुरासुन्दरी कप 9-A side फुटबल प्रतियोगितामा आज ७ वटा खेल हुने भएको छ ।

आज पहिलो खेल बिहान ७ः३० बजे एसवाईसी र ब्लाक हर्नट, बिहान ८ः४० बजे बन्देवी र कटुन्जे, बिहान १०ः२० बजे लेगेण्ड ब्वाईज र एसबीवाईसी, बिहान ११ः५० मा नेपाल एशोसिएसन धादिङ र आँखुखोला युवा क्लव, मध्यन्न १ः१० मा इन्द्रेणी युवा क्लव र सुकौरा युवा क्लव, दिउँसो २ः२० बजे एनटी युवा क्लव सी र मिर्मिरे युवा क्लव, ३ः४० बजे एसवाईडीएस र ठुलो सिरुवारी युवा क्लव, ४ः४० बजे एनटी युवा क्लव बी र डीवाईसी बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ रूपैया र उपविजेता हुने टिमले ५५ हजार ५५५ रूपैया पुरस्कार पाउने छ । यस प्रतियोगिता उद्घाटन माओवादी केन्द्र धादिङका सहइन्चार्ज एवम् जिउँदा सहिदका रुपमा परिचत स्थानीय रामबहादुर भण्डारीले शुक्रबार एक समारोहका बीच गरेका थिए ।

मंसिर १९ र २० को त्रिपुरासुन्दरी मेलालाई विशेष बनाउन र आन्तरिक पर्यटनलाई बढावा दिन आयोजकले १९ र २० गते हेलिकप्टरको समेत प्रवन्ध गरेको छ । २० गते बिहान सल्यानकोट स्थित मन्दिरबाट त्रिपुरासुन्दरी माईलाई सल्यानबेसी मन्दिरमा माई भित्राउदा हेलिकप्टरले पुष्पवृष्टि गर्ने दिपक पाण्डेले धादिङपोष्टलाई बताए ।

हेलिकप्टरबाट मनोरम दृष्य अवलोकन विभिन्न धार्मिक स्थनको अवलोकन तथा पुजाआजाको लागि पनि हेलि चड्न सकिने उनले बताए । पाण्डेका अनुसार सल्यानबेसी मन्दिर परिसरबाट सल्यानकोट मन्दिरको दर्शन गरेर फर्किएको (५ मिनेटको उडान) टिकट दर ६ हजार, सल्यानबेसी मन्दिर परिसरबाट सल्यानकोट मन्दिर गंगाजमुना दर्शन र गणेश हिमाल अवलोकन गरि फर्किएको १३ हजार र सल्यानबेसी मन्दिर परिसरबाट मनकामना मन्दिर दर्शन गरि फर्किएको १३ हजार ५०० टिकट दर रहेको छ । हेलिकप्टरको अग्रिम टिकट बुकिङको लागि दिपक पाण्डे 9851038214 र राजेन्द्र सिटौला 9843145958 लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।
प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ वटा मन्दिर रहेको छ ।

मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।

अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाएपनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रद्धालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ । धार्मिक महत्वसंगै यस जात्राको प्रबर्धन गर्न सके धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना रहेको एक तिर्थस्थलसंगै पर्यटनको लागि समेत उपयुक्त गन्तब्य बन्न सक्ने त्रिपुरासुन्दरीको मन्दिरलाई बिकास र सम्बर्धनका लागि सरकारले बिशेष कार्ययोजना ल्याउनुपर्ने देखिन्छ ।

नेपालका यिनै धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरुको उचित प्रचारप्रसार एबं सम्बर्धन गर्न सकियो भने आर्थिक सामाजिक तथा सास्कृतिक बिकास गर्न सकिने विश्वास लिएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, गोरखा, काठमाडौ लगायतका ठाउँहरुबाट हजारौं मानिसहरु पनि आउने गर्दछन् ।