धादिङ मंसिर १४ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा प्रा।डा। पुष्पराज कँडेले लगातार तेस्रो पटक निर्विरोध निर्वाचित भएका छन् । धादिङ मलेखु निवासी कडेल हाल काठमाडौं स्थित ट्याङ्लाफाट बस्दै आएका छन् ।
कँडेल यस अघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । पाँचौं महाधिवेशन २०४७ मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चालेका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आएका छन् ।
डा. कँडेल पाँचौं र छैठौं मा सदस्य, सातौंमा सचिव र आठौं, नवौं र दशौंमा निर्वाचित अध्यक्ष हुन् । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेर हद कायमै रहे आगामी एघारौं महाधिवेशनबाट ३६ वर्ष लेखा आयोगबाटै अवकाश पाउनेछन् । लेखा समिति सदस्यमा धादिङ मलेखुकै मिनराज कडेल पनि निर्वाचित भएका छन् । उनी धादिङको पुरानो कम्युनिष्ट नेता अन्तरगत पर्दछन् ।
यस्तै धादिङ निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद एवम नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव, धादिङका इन्चार्ज खेम लोहनी नेकपा एमाले केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । लोहनी नवौं महाधिबेशनबाट पार्टीको बैकल्पिक केन्द्रिय सदस्य हुंदै एमालेको केन्द्रिय कमिटीमा प्रवेश गरेका थिए ।
महिलातर्फबाट जानुका सिम्खडा केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष सिम्खडा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिईन् । उनी नेकपा एमालेको वागमती प्रदेश कमिटी सदस्य एवम अखिल नेपाल महिला संघको केन्द्रिय सचिवालयमा समेत छिन् । सिम्खडाले काठमाण्डौंमा सम्पन्न भएको एमालेको नवौं महाधिबेशनमा महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्यमा पहार वेहोर्नु परेको थियो ।
धादिङका जिल्ला अध्यक्ष भुमि त्रिपाठी समेत केन्द्रीय सदस्यको आकाँक्षी थिए तर उनी केपी ओलीले पस्ताव गरेको सूचीमा अटाएनन् भने निर्वाचनमा उम्मेदवारी पनि दिएनन् आफ्नो उम्मेदवारी नरहेको बारे अध्यक्ष त्रिपाठीले सामाजिक संजालमा लेख्दै भनेका छन्, नेकपा (एमाले) को दशौं राष्ट्रीय महाधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्षको हैसियतले क. केपी शर्मा ओलीले पेश गर्नुभएको केन्द्रीय कमिटी सदस्यको प्रस्तावमा मेरो नाम संलग्न नरहेको विषयलाई लिएर पार्टीका नेता-कार्यकर्ता, शुभेच्छुक, इस्टमित्र तथा मतदाताहरुबाट विविध जिज्ञाशा, प्रश्न तथा सरोकारहरु व्यक्त भएको सन्दर्भमा ध्यानाकर्षण भएकोछ।
यस सम्बन्धमा पार्टी अध्यक्ष लगायतका शीर्षस्थ नेतृत्व पंक्तिसंग भएको परामर्शमा विद्यमान राजनीतिक परिस्थितीलाई दृष्टिगत गरी
हाल जिल्लाको पार्टी कामलाई सुव्यवस्थित गर्दै निकट भविष्यमा थप जिम्मेवारी वहन गर्ने सरसल्लाह भएको हुनाले यस सम्बन्धमा कुनै द्विविधा नपाल्न सम्बन्धित सबैलाई अपील गर्दछु ।
साथै, राष्ट्र र जनताको स्वाभिमान र सम्बृध्दीको दिशामा पार्टीको दशौं महाधिवेशनका निष्कर्ष बमोजिम ईतिहासले सुम्पेको अभिभारा पूरा गर्न सम्पूर्ण पार्टी पंक्तिलाई हार्दीक आव्हान गर्दछु ।