एड्भान्सले विद्यार्थीहरूलाई व्यवहारिक सिप सिकाउँदै

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७८

धादिङ मंसिर १० । शुक्रबार धादिङबेँसीस्थित निजी विद्यालय एड्भान्स एकेडेमीले विद्यार्थीहरूलाई व्यवहारिक सिपहरू सिकाएको छ । विद्यालयमा हुने गरेका शुक्रबारीय गतिविधिअन्तर्गत यस हप्ता भने विद्यालयको साधारण शिक्षा विभागको आयोजनामा पेसा, व्यवसाय र प्रविधि विषयसँग सम्बन्धित भएर कक्षा छ, सात र आठका विद्यार्थीहरूलाई विभिन्न व्यवहारिक सिपहरू सिकाइएको छ ।

जसअन्तर्गत कक्षा छ , सात र आठका विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गरी एउटा समूहगत रूपमा दुना तथा टपरी गाँस्न, म:म बनाउन र सेलरोटी पकाउन सिकाइएको थियो । म:म पकाउने विद्यार्थीहरू पनि विभिन्न समूहमा विभाजित गरी कसैले किमा बनाउने र कसैले म:मका लागि आवश्यक पर्ने पीठो तयार पारेका थिए ।

त्यसैगरी सेलरोटी पकाउनका लागि पनि कक्षा सातका विद्यार्थीहरूको सहभागितामा एकदिन अगाडिदेखि नै चामल भिजाउने र पीठो कुट्ने कामहरू गरेका थिए । विद्यार्थीहरू पीठो मुछ्ने, सेलरोटी पकाउने र निकाल्ने गतिविधिहरूमा उत्साहका साथ सहभागि भएका थिए । सेलरोटी पकाइसकेपछि दुना र टपरीहरूमा राखेर विद्यालयका सबै विद्यार्थीहरूलाई खाजाको रूपमा दिइएको थियो ।

दुना र टपरी बनाउनका लागि पनि विद्यार्थीहरूकै सहभागितामा सालको पातको व्यवस्था गरिएको थियो । “आज सबै विद्यार्थीहरू यस्तो व्यवहारिक र दैनिक जीवनयापनमा आवश्यक सिपहरू आफनो विद्यालयमा सिक्न पाउँदा धेरै खुसी छन् ।” विद्यालयका साधारण शिक्षा विभागका संयोजक थम्कराज बसौलाले धादिङपोष्टलाई कार्यक्रमको बारेमा जानकारी दिए ।

विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता जीवनोपयोगी सिपहरूपनि सिकाउनुपर्ने कुरालाई आत्मसात् गर्दै हरेक हप्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।