पात्लेले जित्यो, धादिङको नवौं एन्फा लिग

Avatar photo
नारायण सिलवाल
बिहिबार, मंसिर ९, २०७८

धादिङ मंसिर ९ । जिल्ला फुटबल संघ धादिङले मंसिर १ गतेबाट आयोजना गरेको धादिङ जिल्ला स्तरीय नवौं एन्फा लिग फुटबल प्रतियोगिता विद्यार्थी उपकार संघ पात्लेले जितेको छ ।

फाईनल विजेता पात्लेले नगद १ लाख पाएको छ, विजेता बने सँगै प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङबाट पात्ले छनोट भएको छ ।
फाईनलमा पात्ले सँग स्तब्ध बनेको उप विजेता धुनीबेसीले नगद ५० हजार जितेको छ भने सेमिफाईनलमा रोकिएका गजुरी सामुदायीक विकास समितिले १२ हजार ५०० र धादिङ समाज धादिङले १२ हजार ५०० जितेका छन् । यस प्रतियोगितामा जिल्लाका ११ वटा क्लवहरु सहभागि थिए ।

यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि पात्ले कै जर्सी नम्बर ७ का सुकबहादुर घले भए प्रतियोगिता भरमा ६ गोल गरेका उनले गोल्डन बुट जिते । उत्कृष्ट गोल किपर पनि पात्ले कै जर्सी नम्बर १ का सुब्बा तामाङ बने । बेस्ट डिफेन्डरमा धुनीबेसी युवा क्लवका श्रीकृष्ण रेग्मी बने । वेष्ट स्टाईकर धुनीबेसी युवा क्लव कै सुजल तामाङ घोषित भए । वेष्ट मिडफिल्डर जर्सी नम्बर १५ का धादिङ समाज धादिङका सिन्क बहादुर तामाङ बने । वेष्ट प्लेअयर पात्लेबाटै जर्सी नम्बर ८ का सुजन खनाल बनेका थिए । यस्तै वेष्ट कोच बने पात्ले कै विकास तामाङ ।

संघीय सांसद भुमि त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले आयोजकलाई १ लाखको चेक हस्तान्तरण गर्दै आफ्नो नगरपालिकाले खेलकुदलाई विकासको अंगका रुपमा लिएको बताएका थिए ।

एन्फा धादिङका अध्यक्ष दिपक खतिवडाको सभापतित्व तथा वरिष्ट उपाध्यक्ष रमेश अधिकारीद्वारा संचालित समापन तथा पुरस्कार वितरण समारोहमा जुरी राजेन्द्र विक्रम बस्नेत, बेनीघाट रोराङका पित्तबहादुर डल्लाकोटी स्थानीय राजनीतिक दलका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।