
धादिङ मंसिर ५ । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले ८ विधाका खेलहरु समावेश गरेर प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको छ । यसका लागि मंसिर मसान्त भित्र खेलाडी छनोट गरि सक्न जिल्लाहरुलाई पत्र सर्कुलर गरेको छ ।
पत्रमा स्थानीय तह हुँदै जिल्ला मार्फत खेलाडी छनोट गरिनुपर्ने र स्थानीय तहले खेलाडी छनोट आफ्नै खर्चमा गर्नुपर्ने समेत उल्लेख गरिएको छ । विगतका वर्षहरुमा विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि राखेपबाट १ लाख आउँदा समेत पैसा थोरै भएको भन्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगराउने धादिङका स्थानीय तहलाई प्रदेश खेलकुद विकास परिषदको पछिल्लो पत्रले फेरि अफ्ठ्यारोमा पारेको छ ।
परिषदले बागमती प्रदेशका १३ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्र पठाउँदै मंसिर मसान्त भित्रै खेलाडी छनोट गरि पठाउन आव्हान गरेको छ । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडसमण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने बताईएको छ ।
प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित २ करोड र थप प्रदेश सरकारबाट ४ करोड ५४ लाख गरि ६ करोड ५४ लाखको कुल लागत परिषदले यी खेलहरुको प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी हुन पठाउनुपर्नेछ ।
प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् तर स्थानीय तहले भने आफ्नै खर्चमा खेलाडी छनोट गर्नु पर्ने परषदले जनाएको छ । एक महिना सम्म चल्ने यस प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि भनिएको छ ।

