धादिङ मंसिर ३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच अपरान्ह ४:४५ प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । ‘बी’ लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो । सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ । डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट नतिजा ल्याउने योजनामा रहेको छ ।
कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।
सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा बहुराष्ट्रिय कम्पनि कतार एअरवेजले निरन्तरता दिएको छ । कतार एअरवेजले लिग प्रायोजन स्वरूप एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ७८ लाख रुपैयाँ) प्रदान गर्नेछ । एन्फाले गत संस्करणकै रकममा यसपटक पनि सम्झौता गरेको हो ।