
गोरखा कात्तिक २६ । गोरखामा १४ किलो ८ सय ग्राम अवैध चरेससहित बिहिबार एकजना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ रहेको जिल्ला प्रहरीले जनाएको छ ।
बारपाकबाट छेवेटारतर्फ आउँदै गरेको बा २० च ९३३२ नं को बलेरो पिकअपलाई चेकजाँच गर्ने क्रममा अवैध चरेससहित गुरुङलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । उनका अनुसार पहेलो रंगको बोराभित्र प्लास्टिक थैलीमा पोका पोका पारी चरेस लुकाइएको थियो ।
पक्राउ परेकी गुरुङले आफ्नै जग्गा जमिनमा उब्जिएको लागुऔषध गाँजाबाट आफैँले घरमा चरेसको उत्पादन गरी ल्याएको प्रहरीसँग स्वीकार गरेकी छिन्। गुरुङको घरमा थप खानतलासी गर्दा ४ सय ग्राम चरेस र जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको दाहालले बताए।