
धादिङ कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ ।
गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाले समर्थन गर्दै हस्ताक्षर गरेका थिए । प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य रहेको छन्