अनुगमनको नाममा व्यवसायीलाई दु:ख दिईयो -अध्यक्ष खत्री

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १५, २०७८

धादिङ कात्तिक १५ । धादिङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउँदै बजार अनुगमनको नाममा व्यवसायीलाई दु:ख दिईएको जनाएको छ । विगत केहि महिना देखि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निरन्तर भईरहेको बजार अनुगमनको क्रममा व्यवसायीहरुलाई अनावश्यक दु:ख दिईएकोले प्रशासनमा ध्यानाकर्षण पत्र बुझाईएको संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

बजार अनुगमन गर्नुपर्छ त्यसका लागि उद्योग वाणिज्य संघ सहयोग गर्न तयार छ, तर अनुगमनको नाममा तरकारी फाल्ने, फलफुल फाल्ने, अनुगमन टोलीलाई जति मन लाग्यो त्यति जरिवाना गराउने, जरिवाना गरेर पनि फल फुल तथा तरकारी जफथ गर्नु जस्ता कार्यहरु भैरहेको छ, यसले व्यवसायीहरु मर्कामा परेकोले ध्यानाकर्षण गराईएको अध्यक्ष खत्रीले धादिङपोष्टलाई बताए ।

प्रशासनलाई बझाइएको ज्ञापन पत्रमा भनिएको छ, “जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाइमा भैरहेको बजार अनुगमनले मूल्य नियन्त्रण र गुणस्तरीयतालाई सुनिश्चित गर्न सहयोग पुगिरहेता पनि पछिल्लो समय अनुगमनका नाममा व्यवसायीहरुको मनोबल खस्किने गरी अनावश्यक झमेला सिर्जना गर्ने, न्युनतम मानवीय संयमता समेत ख्याल नगरी व्यवसायीहरुको समस्या सुन्न नचाहने र ग्राहकहरुमा समेत नकारात्मक असर परेकाले बजार अनुगमनलाई मर्यादित र व्यवसाय केन्द्रित बनाउन ध्यानाकर्षण गराउन चाहन्छौँ ।”