धादिङ क्रिकेट अपडेट: आज चौंथो दिन चक्रदेवी, त्रिपुरासुन्दरी र चरौंदी विजयी

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १४, २०७८

धादिङ कात्तिक १४ । धादिङ जिल्ला क्रिकेट संघले बेनीघाट रोराङको विशालटारमा आयोजना गरेको जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगितामा आज ३ वटा खेलहरु भएका छन्, जसमा नलाङको चक्रदेवि सामुदायकि विकास समाज, त्रिपुरासुन्दरी खहरेको त्रिपुरासुन्दरी क्रिकेट टिम र बेनीघाट रोराङको चरौंदी सुधार समाज विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा चक्रदेवी सामुदायिक समाज र सुभारम्भ युवा समाज बिचको खेलमा चक्रदेवी सामुदायिक समाजले पहिलो जित निकालेको छ । बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर सुभारम्भ युवा समाजले चक्रदेवी सामुदायिक समाजलाई ब्याटिङको निम्तो दिएको थियो । चक्रदेवीले १८.२ ओभरमा १०४ रन जोड्दै सम्पुर्ण विकेट गुमाएको थियो । चक्रदेवीका पुष्पराज पाण्डेले १९ बलमा २४ रन जोडे । साथै सगिम सिलवालले १३ बलमा ११ रनको पारी खेले ।

सुभारम्भ युवा समाजका विक्रम खड्काले ३ ओभरमा ८ रन दिँदै २ विकेट लिए । यस्तै सविन , स्यानडिल श्रेष्ठ , समीर अधिकारी र विष्णु भण्डारीले सम्मान १/१ विकेट हात पारे । जवाफी ब्याटिङका लागि आएको सुभारम्भ युवा समाजले २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन मात्रै बनाए। सुभारम्भका अमन श्रेष्ठले ४८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन जोडे । यस्तै समीर अधिकारीले २२ बलमा २३ रन जोडे ।

चक्रदेवीका विशलले ४ ओभरमा बलिङ गर्दै २ मेडन राख्दै ३ रन दिँदै ३ विकेट लिए। यस्तै रबिन सिलवाल र मनिष अर्यालले सम्मान २/२ विकेट हात पारे । समूह बीमा रहेका सुभारम्भ युवा समाज खेल पछि दोस्रो स्थानमा छ भने चक्रदेवी सामुदायिक समाज तेस्रो स्थानमा छ ।

यस्तै आज भएको दोस्रो खेलमा त्रिपुरासुन्दरी र भद्राकाली सामुदायिक बिकास समाज बिचको खेलमा त्रिपुरासुन्दरीले ५० रनको जित निकालेको छ । टस जितेर ब्याटिङका लागि आएको त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन जोड्यो । टोलीका लागि ईश्वर अधिकारीले ३८ बलमा ३० रन जोडे। साथै बुबा र छोराको जोडी उदय थापा र अमृत थापाले क्रमश ९ र १७ रन जोडे । साथै सुबाश खड्काले १४ बलमा १४ रन जोडे ।

भद्राकालीका सृजन पाण्डेले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिए । यस्तै प्रविन सिलवालले २ विकेट लिए भने विकास र रूपेश भुजेलले सम्मान १/१ विकेट लिए । सामान्य लक्ष्य पछ्याउन आएको भद्राकालीलाई अनिल अधिकारी र बुबा – छोराको जोडी अर्थात् उदय र अमृत थापाले कसिल बलिङ गर्दै ६४ रनमा रोके । भद्राकालीका विकास बुढाथोकीले १३ रन जोडे ।

भद्राकालीका ब्याटिङलाई मिडल ओभरमा रोक्न ५५ वर्षिय बुबा उदय थापा र १९ वर्षिय अमृत थापाले मुख्य भूमिका खेले । मिडिल ओभरमा स्पिन आक्रमणबाट बुबा – छोराले ३ विकेट हात पारे । बुबा उदयले ४ ओभरमा १ मेडन राख्दै ७ रन दिएर २ विकेट लिए भने अमृतले ४ ओभरमा १ मेडन राख्दै ११ रन दिएर १ विकेट लिए । अनिलले पनि ३ ओभरमा २ मेडन राख्दै ३ महत्वपूर्ण विकेट हात पारे । खेलको म्यान अफ द म्याच अनिल अधिकारी घोषित भए ।

यस्तै आज भएको अन्तिम खेल अर्थात तेस्रो खेलमा चरौदी समाज सुधार युवा क्लबले गलौदि युवा समाज माथि ७ विकेटको जित निकाल्दै सेमी फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर गलौदिले ब्याटिङ गर्दै चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थिए। गलौदिले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन जोडेको थिए। गलौदिका सुदिप घिमिरेले ४० बलमा ७२ रन जोडे। साथै राज कुमार तामाङले २४ रन जोडे।

चरौदीका अन्जाल सिलवालले २ विकेट लिए भने श्याम त्रिपाठीले १ विकेट लिए। १६१ रनको चुनौतीपूर्ण लक्ष्य चरौदीले १६.१ ओभरमा भेटायो। चरौदीका कप्तान श्यामले ३९ बलमा ५० रन जोडे भने विजय सिलवालले ४३ रन जोडे। लगातार दुई जित निकालेको चरौदी सेमी फाइनलमा पुग्ने टाेली बनेकाे छ ।