
धादिङ कात्तिक १४ । धादिङका ध्रुवविक्रम मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष एवम् बालाजु डो– प्रतिष्ठानका अध्यक्ष मल्ल शनिबार २०० भन्दा बढी युवाहरुकाे साथमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्वगृहमन्त्री तथा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र पूर्व पर्यटन राज्यमन्त्री पर्शुराम तामाङले स्वागत गरेका हुन् ।
द्वन्दकालदेखि नै माओवादी केन्द्रमा आवद्ध मल्लले नै माओवादी निकट जनमुक्ति सेनाको पिएलए स्पोर्टस् क्लब बनाएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा पिएलए स्पोर्टस् क्लबले भाग लिएपछि विवाद भएको थियो । नेपाली सेनाले उक्त खेल नै बहिष्कार गरेको थियो ।
मल्लले बालाजु डोजोबाट प्रतिष्ठित खेलाडीहरु उत्पादन गरेका छन् । कराँतेको अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त प्रशिक्षक रहेका उनले अन्तर्राष्ट्रिय धावक मिरा राई, विमला तामाङ, नविन रसाइली, अनुपमा मगर, विजय श्रेष्ठ लगायत दर्जनौँ खेलाडी उत्पादन गरेका छन् ।








































