धादिङमा जारी टी २० क्रिकेटः दोस्रो दिन सुभारम्भ, त्रिपुरासुन्दरी र चरौंदी विजयी

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १३, २०७८

धादिङ कात्तिक १३ । धादिङको बिशालटारमा धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन सुभारम्भ गल्छी, त्रिपुरासुन्दरी खहरे र चरौंदी बेनीघाट रोराङ विजयी भएका छन् । भद्राकाली सामुदायिक बिकास समाज र सुभारम्भ युवा समाज बिचको खेलमा सुभारम्भ युवा समाजले ११ रनको जित हात पारेको छ । यस्तै १० बजेको खेलमा त्रिपुरासुन्दरी क्रिकेट क्लवले चक्रदेवि सामुदायिक समाजलाई ५६ रनले पराजीत गर्यो। साथै २ बजेको खेलमा चरौदी समाज सुधार युवा क्लब सांकोष क्रिकेट टिम माथि ६ विकेटको विजय हासिल गरेको छ ।

बिहानी ७ बजेको खेलमा टस जितेर ब्याटिङका लागि आएको सुभारम्भ युवा समाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन जोडेको थियो। टोलीका लागि स्यानडिल श्रेष्ठले सर्बाधिक ३६ रन प्रहार गरे भने भद्राकाली सामुदायिक बिकास समाज बाट प्रविन सिलवालले ३ विकेट हात पारे । ९८ रनको लक्ष्य पछ्याउने आएको भद्राकाली सामुदायिक बिकास समाजले १८.१ ओभरमा ८७ रन जोड्दै सबै विकेट गुमायो।

यस्तै दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिपुरासुन्दरी क्रिकेट क्लवले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन जोडेको थियो। त्रिपुरासुन्दरी क्रिकेट क्लवका ब्याटर आरम्भ तिमिल्सिनाले ४५ बलमा ६० तथा अमृत थापाले ४० बलमा ६३ रन जोडे । जवाफी ब्याटिङ गर्न आएको चक्रदेवि सामुदायिक समाजले २० ओभर खेल्दै मात्र १०९ रन जोड्यो।

दिनको अन्तिम खेलमा टस हारेर ब्याटिङका लागि आएको सांकोष क्रिकेट टिमले १६.१ ओभरमा १० विकेट गुमाउँदै ७७ रन जोडे । टोलीलाई सानो स्कोरमा रोक्न श्याम त्रिपाठीले ३ तथा होम कुमार सुवेदीले २ विकेट हात पारे । सामान्य लक्ष्य पछ्याउने मैदान प्रवेश गरेको चरौदी समाज सुधार युवा क्लबले १०.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो ।

पहिलो दिनको खेलमा समूह एमा रहेको कारु मेमोरियल ट्रस्टले हाम्रो जनहित युवा समाज माथि ३१ रनको जित हात पारेको थियो । भने गजुरी सामुदायिक विकास समाजले धादिङ समाज धादिङ बिरुद्ध ६२ रनको विशाल जीत हात पारेको थियो ।