
धादिङ कार्तिक ११ । किसान आन्दोलनलाई नयाँ उचाईमा उठाऔ, दलाल र भुमाफियाहरुको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गरौं, भन्ने मुल नाराका साथ विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) धादिङको प्रथम जिल्ला सम्मेलन निलकण्ठ नगरपालिकाको वली डाँडामा सम्पन्न भएको छ । सम्मेलनले बिमल तामाङको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।
सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले कृषि प्रधान देशमा किसानहरु नै भोकको सिकार बन्नु पर्ने अवस्था यो दलाल संसदीय व्यवस्थाले सिर्जना गरेको बताएका थिए । उनले कृषि उत्पादनलाई वैज्ञानिक ढंगले उत्पादन गर्दै देशलाई आत्मनिर्भर बनाउने अभियानमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले मुख्य भुमिका खेल्नुपर्ने बताउदै अहिलेको राज्यले अपहेलित गरेका किसानहरुलाई वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले सम्मान सहित वैज्ञानिक कृषि उत्पादन सहित कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने बताएका थिए ।
सम्मेलनमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिव सागर तामाङले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा जनपत्रकार संगठनका जिल्ला अध्यक्ष तथा पार्टीका जिल्ला सदस्य सुन्दर लामा, दलित मुक्तिमोर्चाका जिल्ला संयोजक तथा जिल्ला सदस्य काइला सुनुवार, जिल्ला सदस्यहरु माइला गुरुङ, धनबहादुर घलेको आतिथ्यता रहेको थियो ।









































