धादिङ कात्तिक १० । बागमती प्रदेशको मुख्य मन्त्री बनाउने आश्वासन पछि मात्रै प्रदेश सांसदका लागि चुनावी मैदानमा होमिएका राजेन्द्र प्रसाद पाण्डे चुनाव पनि जिते तर उनलाई एमालेले मुख्य मन्त्री बनाएन । अल्पमतमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजिनामा दिए सँगै एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा लागेका राजेन्द्र पाण्डे सत्ता गठबन्धन दलको समर्थनमा बागमती प्रदेशको मुख्य मन्त्री बन्ने निश्चित भएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्य मन्त्रि शाक्यले राजिनामा दिएपछि बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरे सँगै पाण्डेलाई मुख्य मन्त्री बनाउने सहमती कार्यान्वयन तर्फ अगाडी बढेको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।
एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएर १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन् । अहिले प्रदेशमा एमालेका ४३ जनामात्रै सांसद छन् । वागमती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ ।