२८ वर्ष पछि नेपालले भारत सँग फाइनल खेल्दै, नेपालका अन्जन खेल्न नपाउने

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २८, २०७८

काठमाडौं असोज २८ । नेपाल र भारत बीच २८ वर्षपछि साफ च्याम्पियनसिपका लागि फाइनल खेल्ने भएका छन् । साफ च्याम्पिनसिपमा पहिलो पटक फाइनल पुगेपनि नेपालले यसअघि अर्को फाइनल खेलेको थियो ।

अहिले दक्षिण एसियाली खेलकुद (साग) का नामले परिचित तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साग) को छैटौं संस्करणमा नेपाल र भारतले फाइनल खेलेका थिए । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो । त्यसयता नेपाली राष्ट्रिय सिनियर टोलीले दक्षिण एसियाको क्षेत्रिय स्तरको प्रतियोगिता जितेको छैन ।

असोज ३० गते हुने यो ऐतिहासिक फाइनल खेल नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले भने खेल्न नपाउने भएका छन् । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड भएका कारण उनले अर्को खेल गुमाउने भएका हुन् ।