
एजेन्सी असोज १५ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियन सिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ । १३ औं साफको पहिलो दिन शुक्रबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् भने दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले माल्दिभ्सलाई घरेलु समर्थन हुने भएपनि त्यसको मतलब नहुने बताए । ‘माल्दिभ्सलाई घरेलु समर्थक र वातावरणको फाइदा पुग्ला । हामी समर्थकको सम्मान गर्छौं तर त्यसले हामीलाई खास असर गर्दैन । हामी मैदानमा लडेर नतिजा निकाल्नेछौं,’ उनले भने । टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पनि माल्दिभ्सविरुद्ध खेल कठिन हुने बताए । ‘माल्दिभ्स राम्रो टोली हो र साविक विजेता पनि । घरेलु मैदानमा खेल्दा पक्कै सहज हुनेछ । हामीलाई उनीहरुको सामना गर्न कठिन हुनेछ,’ उनले थपे ।
नेपालले हालसम्म प्रतियोगिताको फाइनल खेल्न सकेको छैन । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित हुँदै बाहिरिएको थियो । त्यसअघि सन् २०१३ मा घरेलु मैदानमा भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनलमा रोकिएको थियो ।