नेपालमा अट्ठाइस प्रतिशतले लगाए पूर्ण खोप

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १४, २०७८

काठमाडौं असोज १४ । देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म खोप लगाउनेहरूको सङ्ख्या बताएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिनुभयो ।

यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । बाँकीले पूर्ण मात्रा पाएका छैनन् । उहाँका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ । नेपालले विभिन्न देशबाट उक्त खोप ल्याएको हो । आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उहाँले बताउनुभयो । पौडेलका अनुसार भेरोसेल खोप मात्रै नेपालमा एक करोड १९ लाख मात्रा खोप आएको छ । त्यसपछि धेरै आउनेमा भारतमा बनेको कोभिसिल्ड खोप रहेको छ ।

कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यस्तै बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० मात्रा, जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आएपछि गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु भएको थियो । खोपपछि कोरोना सङ्क्रमणदर ५२.३ प्रतिशतले घटेको छ । प्रवक्ता पौडेलले गत महिनाको तुलनामा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको जानकारी दिनुभयो ।

गत महिना ३६ हजार ८६१ जना अर्थात् ४.८६ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १८ हजार ४२२ अर्थात् २.३२ प्रतिशतमा झरेको छ । सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै डा. पौडेलले कोरोना भाइरसका सङ्क्रमितहरू अझै पनि धेरै रहेकाले सतर्कता भने अपनाउनुपर्ने बताउनुभयो ।

यसैबीच गत २४ घण्टामा देशभर एक हजार १५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. पौडेलले थप एक हजार ११३ जना निको भएको जानकारी दिनुभयो । यस्तै थप आठ जना सङ्क्रमितको निधन भएको छ । गोरखापत्रबाट