मैदीकोटलाई पर्यटन प्रवद्र्धन गर्न साँस्कृतिक उत्सव मनाईयो

Avatar photo
Dhadingpost
बिहिबार, माघ २, २०७६

धादिङ माघ २ । ओझेलमा परेको राष्ट्र निर्माता पृथ्वीनारायणको ब्रतबन्ध स्थल मैदीकोटलाई पर्यटन पवद्र्धनका लागि दुई दिने साँस्कृतिक उत्सव मनाईएको छ ।

खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यताम उत्सव मनाईएको हो ।

मैदीकोटको संरक्षण गरौँ, आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गरौँ, भ्रमण वर्ष २०२० लाई सफल पारौँ भन्ने मूल नाराका साथ भएको उत्सवमा विविध सांस्कृतिक कार्यक्रमका गोरु समेत जुधाइएको थियो । जसमा प्रथम हुने गोरु धनीलाई रु ५ हजार र द्धितीय हुने गोरु धनीलाई रु २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

सोही अवसरमा भएको एकल नृत्य प्रतियोगितामा अनिल तामाङ प्रथम, सुमिना श्रेष्ठ द्धितीय र नवीना श्रेष्ठ तृतीय भएका छन् । विजयीहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु बबिता बानिया जेरी, राजकुमार बानिया र गीता सेञ्चुरीले भरपुर मनोरञ्जन दिलाएका थिए ।

यसकारण मैदीकोट ऐतिहासिक

ऐतिहासिक तथ्य अनुसार, पूर्ण शाहका छैटौ पुस्ता राजा श्री ५ पृथ्वीपति शाहका साइला छोरा दलु शाह राजकाजी खटपटले देश निकाला भएपछि मैदीतर्फ लागेको र मैदीकोटमा आई बसोबास गर्न थाले पछि नै खड्कदेवी मन्दिरको स्थापना गरिएको थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा आफ्ना भाइभारदारसँग छलफल गर्न यही कोटको प्रयोग गरेका थिए भन्ने कुरा समेत इतिहासमा उल्लेख रहेको पाइन्छ । तत्कालीन समयमा गोरखाका राजाहरुले यस कोटलाई आफ्नो क्षेत्रीय प्रशासनिक इकाइको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ ।

करिब ४०(४५ वर्ष पहिले भुतपुर्व अञ्चलाधिस विष्णु प्रताव शाहले मन्दिरको पुनर्निमार्ण गराएको पाईए पनि त्यसको संरक्षण र संबद्धनको अभावमा जिर्ण बन्दै गएको मन्दिर २०७२ सालको भूकम्पले झनै जीर्ण बने पछि अहिले त्यसलाई भत्काएर पुनर्निर्माण थालिएको छ ।
मन्दिरको पुन निमार्णको लागि अहिले पुरात्व विभागले भ्याट सहित रु १० लाख सहयोग गरे पनि त्यो रकम पुनर्निर्माणको लागि प्रयाप्त नभएको कोट संरक्षण समितिका पदाधिकारीहरु बताउछन् ।

धादिङ जिल्लाको साविकका ४८ वटा गाविसको विभिन्न भूभागका साथै १० भन्दा बढी जिल्ला र विभिन्न १ दर्जन भन्दा बढी हिमालहरुको मनोरम दृश्य देख्न सकिन्छ ।

बिहानको सुर्योदय हेर्नको लागि पनि यस ठाउँ निकै उपयुक्त रहेको छ ।