देउवा यथास्थितिमै एमसिसी पास गर्ने पक्षमा

Avatar photo
Dhadingpost
सोमवार, माघ २४, २०७८

काठमाडौं । प्रधानमन्त्री देउवा यथास्थितिमै यथाशीध्र एमसिसी संसद्बाट अनुमोदनको पक्षमा छन्, तर गठबन्धनभित्र यसबारे सहमति जुटिसकेको छैन ।

प्रतिपक्षी एमालेले संसद्मा अवरोध कायमै राखेको छ । एमसिसीले पत्र नै लेखेर १६ फागुनभित्र अनुमोदन गर्न ‘दबाब’ दिएपछि प्रधानमन्त्री देउवाले संसद् खुलाउने र एमसिसी टेबुल गर्ने वातावरण बनाउन पहल थालेका हुन् । यद्यपि, हतारमा माघमै संसद्मा अगाडि नबढाउन भने उनी लचिलो भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेको समेत समर्थन जुटाएर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा टेबुल गराउन चौतर्फी पहल थालेका छन् । उनले सत्तागठबन्धनमा रहेका दलका शीर्ष नेता र एमाले नेतृत्वसँग प्रत्यक्ष संवाद गरेका छन् भने दूतमार्फत सभामुख अग्नि सापकोटासँग पनि छलफल गरेका छन् ।

सत्ता सहयात्री माओवादी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँग आइतबार छलफल गरेका प्रधानमन्त्री देउवाले दूतमार्फत सभामुखसँग पनि एमसिसी अगाडि बढाउन परामर्श गरेका छन्, माओवादी केन्द्रीय कमिटी बैठकसम्म संसद्मा नलैजान प्रधानमन्त्री र प्रचण्ड सहमत समेभ भएको बताइएको छ ।