
मकवानपुर भदौ ३० । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा मकवानपुरको आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा मिना श्रेष्ठ, बिक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौँलागाई, सुशन लामिछाने र राजन कटुवाललाई चयन भएका छन् ।
अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकारिता र आमसंचारका माध्ययमले नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए । सोही अवसरमा अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ ।
समूहले यस बर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको हो । स्वर्गीय केबीको बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
