नेपालले अमेरिकालाई हरायो, आज ओमन सँग खेल्ने

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७८

एजेन्सी भदौ २९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ भने आज ओमन सँग खेल्दैछ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकाले दिएको २३१ रनको लक्ष्यलाई ५ विकेटले पराजित गरेको थियो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपालको जित पक्का गराए । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए ।

पाँचौ विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जित पक्का गराएका हुन् । नेपालको ओडिआईमा पाँचौ विकेटका लागि भएको यो उच्च साझेदारी हो । रोहितले ७९ बलमा छक्का साथ आफ्नो ओडिआई करिअरको कीर्तिमानी अर्धशतक पूरा गरे । रोहितको यो ओडिआई करिअरमा लगातार दोस्रो अर्धशतक हो । उनी नेपालबाट ओडिआईमा तेस्रो अर्धतक बनाउने पहिलो खेलाडी हुन् । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए ।

स्पिनर निसर्ग पटेलको ३३ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएपछि कुशल शतक बनाउन १६ रनले चुकेका थिए । नेपालबाट एकै खेलमा व्यक्तिगत यो तेस्रो ठूलो रन हो । यसअघि २०१९ मा पारस खड्काले यूएईविरुद्ध १ सय १५ र रोहित कुमार पौडेलले पिएनजीसँग ८६ रन छ । नेपाललाई पहिलो विकेटका लागि ओपनर आसिफ शेख र कुशलले १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए । नेपाली ओडिआई क्रिकेट ओपनरले पहिलो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए ।

आसिफ नोश्टुश केंजीगेको बलमा निसर्ग पटेलबाट क्याच आउट भएका थिए । २१ औं ओभरको पहिलो बलमा स्पिनर निसर्ग पटेलले कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल तेस्रो खेलमा पनि एक रनमा आउट भए । यसअघि पिएनजीसँगको दुबै खेलमा कुशल एक एक रनमा आउट भएका थिए । कुशल मल्ललाई ३४ औं ओभरको तेस्रो बलमा कुशललाई सौरभ नेत्रवालकारले विकेटकिपर मोनांक पटेलबाट क्याच आउट गराएका थिए ।

नेपालले आज मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४स्१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

ओमान लिग(२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

लिग-२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।