
धादिङ भदौ २७ । धादिङबाट निर्वाचित प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे नेपाल कम्युनिष्ट पार्टी (एककीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेता बनेका छन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने र संसदीय दलको नेता राजेन्द्र प्रसाद पाण्डेलाई बनाउने निर्णय गरेको हो ।
यो सँगै अल्पमतमा परेको एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित बनेको छ भने अन्यदलको समर्थमा राजेन्द्र प्रसाद पाण्डे मुख्य मन्त्री बन्ने बाटो खुलेको छ । पार्टीको तर्फबाट प्रदेशसभामा जेष्ठ सदस्यका रुपमा रहेका माधव पौडेलको अध्यक्षतामा बैठक बसेको थियो ।
अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको बेला गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने दौडमा रहेका पाण्डे संसदीय दलको नेता चयन हुनुलाई चासोका साथ हेरिएको छ । एमाले विभाजनपूर्व बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्येले मुख्यमन्त्री पदको प्रलोभनमा माधव नेपालको साथ छाडेकी थिइन् ।
प्रदेशमा ५६ सांसदसहित स्पष्ट बहुमतमा रहेको एमाले नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएसंगै ४३ सांसदमा खुम्चिन पुग्यो । एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् ।
