काठमाडौं भदौं २७ । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।
४ खेलाडीले डेब्यू गरेको खेलमा सविता राना मगर र प्रिती राईको गोलमा दशरथ रंगशालामा पहिलो पटक उत्रेको राष्ट्रिय महिला टोलीले जित हासिल गरेको थियो । डेब्यू गर्ने ४ मध्ये सविता र प्रिती पनि थिए । उनीहरु दुवैले पहिलो रोजाईमा खेलको सुरुवात गरेका थिए । सृजना सिंह र रश्मीकुमारी घिसिङले सोही खेलमार्फत डेब्यू गरेका थिए ।
यसपटक २३ सदस्यीय टोलीमा ७ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । ती मध्ये ३ खेलाडीले डेब्यू गर्न बाँकी रहेको छ । प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको खेलमा सविता र प्रीतिसँगै सिर्जना सिंह ठकुरी र रश्मी कुमारी घिसिङलाई पनि डेब्यु दिएको थिए ।
उज्वेकिस्तानमा एसियन कप छनोटमा ३ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि समूहको शीर्ष टोली यसैबीच भारतमा हुने अन्तिम चरणका लागि छनोट हुनेछ । नेपालले फिलिपिन्ससँग असोज २ गते र हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ ।