
धादिङ भदौ २७ । चर्को घामको कुनै प्रवाह नगरी राप्रपा धादिङका कार्यकर्ताहरुले धादिङबेसीमा एमसीसी विरुद्ध र्याली प्रदर्शन गरेका छन् । आईतबार दिउँसो १२ बजे पुछार बजारमा भेलाभएका राप्रपा कार्यकर्ताहरुले देश बेच्न पाईदैन, एमसीसी हामीलाई चाहिदैन भन्दै र्याली प्रदर्शन गरेका हुन् ।
र्यालीमा सहभागि राप्रपा धादिङका कार्यकर्ताहरुले देश बेच्न पाईदैन, एमसीसी चाहिदैन, ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा जी सुमर सहितको प्रतिनिधिमण्डलले करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदानबारे थप स्पष्ट बनाएसँगै चार वर्षयता जारी एमसीसी सम्बन्धी विवाद निर्णायक चरणमा प्रवेश गरेको बताइएको छ ।
सुमरको भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको एमसीसी कम्प्याक्टलाई संसद्बाट अनुमोदन गराउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलभित्र उक्त विषय छलफलमा रहेको भन्दै एमसीसीमा राष्ट्रिय सहमतिको पक्षमा आफू रहेको बताएका थिए ।
विपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भने सरकारको नेतृत्व गर्दा विगतको सरकारले गरेको उक्त सम्झौता अघि बढाउने प्रयास आफूले गरेको भए पनि अहिले सत्ता गठबन्धनको निर्णय हेरेर एमालेले धारणा तय गर्ने बताएका थिए ।
