नेकपा एकीकृत समाजवादी स्थानीय तहमा कमजोर

Avatar photo
Dhadingpost
भदौ २४, २०७८

काठमाडौ भदौ २४ । ०७४ को स्थानीय निर्वाचनमा दुई महानगरपालिका र सात उपमहानगरसहित १२३ नगरपालिकाको प्रमुख, सात उपमहानगरसहित १३७ नगरमा उपप्रमुख, १७१ गाउँपालिका अध्यक्ष, १९४ उपाध्यक्ष र २५६० वडाध्यक्ष जितेर एमाले सबैभन्दा ठूलो दल बनेको थियो । तर, स्थानीय तहका प्रभावशाली जनप्रतिनिधिले नेकपा (एस) रोजेनन् । निर्वाचन आयोगका अनुसार सम्पूर्ण विवरण आउन अझै केही दिन लाग्छ ।

संघीय संसद् र प्रदेश सभामा सम्मानजनक र प्रभावकारी उपस्थिति बनाएको नेकपा एकीकृत समाजवादी स्थानीय तहमा भने कमजोर देखिएको छ । निर्वाचन आयोगले सनाखतको सम्पूर्ण विवरण आउन एक साता लाग्ने बताए पनि प्रारम्भिक तथ्यांकमा स्थानीय तहमा नेकपा एसले अपेक्षाकृत उपस्थिति जनाउन सकेन ।

आयोगले एमाले र जनता समाजवादी पार्टी विभाजन भएर नयाँ दल गठन भएपछि प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समयसीमा मंगलबार सकिएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको विभाजनपश्चात्को २१ दिनको समयावधि सकिएको हो ।

तर, विभाजनपछि बनेको दल एकीकृत समाजवादीले सम्मानजनक संख्यामा जनप्रतिनिधिले आफ्नो पक्षमा सनाखत गरेको दाबी गरेको छ । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बेदुराम भुसालले प्रदेश तहमा अपेक्षा गरेअनुसार नै जनप्रतिनिधि आफ्नो पक्षमा आए पनि स्थानीय तहमा भने सोचेअनुसार हुन नसकेको स्विकारे । ‘हामीसँगका साथीहरूले अन्तिममा छाडेर गएका कारण असर पर्ला भन्ने त आशंका नै थियो । तर, जति भयो, त्यसलाई हेर्दा खास असर परेनछ भन्ने नै हो,’ नेता भुसालले भने ।

एमले नेता प्रदीप ज्ञवालीले पनि प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा केही प्रभाव देखिए पनि धेरै ठाउँमा नेकपा एसको उपस्थिति कमजोर देखिएको बताए । ‘समग्रमा १५ देखि २० प्रतिशतको हाराहारीमा प्रभाव परेको प्रारम्भिक रूपमा देखिन्छ,’ ज्ञवालीले भने, ‘स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित तल जनतासँग प्रत्यक्ष जोडिनुभएका अधिकांश जनप्रतिनिधि जसले आश्वासनबाट तत्काल सुविधाको लाभ लिने केही ठाउँ छैन, त्यस्ता साथी जनमतको कदर गर्दै पार्टीको पक्षमा दृढतापूर्वक उभिनुभएको छ ।’

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले निर्वाचनको समयमा एमाले अध्यक्ष केपी ओलीले अन्यायपूर्ण ढंगले टिकट वितरण गरेको र त्यसवेला टिकट पाएका आफ्नो समूहका ८० प्रतिशतभन्दा धेरै जनप्रतिनिधिले साथ दिएको बताए । त्यो वेला माधव नेपाल पक्षबाट टिकट पाएका र त्यसमा पनि थप जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको खतिवडाको भनाइ छ ।

यस्तै, जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादीमा पनि उल्लेख्य मात्रामा जनप्रतिनिधिले सनाखत गरेको नेता केशव झाले दाबी गरे । झाले तीनवटा प्रदेशबाट २० जना प्रदेश सभा सदस्य र विभिन्न जिल्लाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षसहित आठ सय ८६ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादीको पक्षमा सनाखत गरेको बताए । पार्टी विभाजन हुँदा जसपाको केन्द्रीय कार्यकारिणीका १७ जना र संघीय संसद्का १५ जनाले लोकतान्त्रिक समाजवादी रोजेका थिए ।

यससँगै केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले निर्वाचित पदसहित दल परिवर्तन गर्ने समयसीमा सकिएको छ । अब यसअघिको चुनावबाट निर्वाचित भएका कुनै पनि जनप्रतिनिधिले पदसहित नयाँ दल रोज्न पाउने छैनन् । यदि दल परिवर्तन गर्न चाहेको खण्डमा पद गुमाउनुपर्नेछ ।

गत १६ भदौदेखि सुरु प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत मंगलबार नै सकिए पनि यसको अन्तिम विवरण आउन भने अझै केही दिन लाग्ने भएको छ । आयोगका सहप्रवक्ता कोमलराज धमलाले जिल्ला र प्रदेश निर्वाचन कार्यालयले मंगलबार साँझसम्म सनाखतको टिप्पणी उठाएर पठाए पनि आयोगसम्म पुग्नका लागि अझै केही समय लाग्ने बताए ।

‘जनप्रतिनिधिको सनाखत मंगलबार साँझ ५ बजेसम्म भए पनि विवरण आयोगसम्म पुग्न र त्यसलाई अन्तिम रूप दिन केही समय लाग्छ,’ सहप्रवक्ता धमलाले भने, ‘कर्णालीलगायत विभिन्न क्षेत्रबाट आयोगसम्म आइपुग्न करिब एक हप्ता समय त लाग्छ होला । त्यसपछि कसले कुन दल रोजे भनेर आयोगले निर्णय गर्छ ।’

उनले अब कसैले सनाखत फिर्ता गर्न चाहेको खण्डमा आयोगमा नै निवेदन दिनुपर्ने बताए । यद्यपि, आयोगले गरेको निर्णय पुनरावलोकन हुने सम्भावना भने कम मात्रै रहेको उनको भनाइ छ । सनाखत फिर्ताका विषयमा कुनै व्यवस्था नभएकाले त्यस्तो निवेदन परेका खण्डमा आयोगले पछि नै निर्णय गर्ने धमलाले बताए ।

एमाले विभाजन गर्दै बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको संगठनात्मक शक्ति पनि देखिएको छ । २ जेठ ०७५ सम्मको दुई सय तीन सदस्यीय केन्द्रीय कमिटीका ५५ केन्द्रीय सदस्य विभाजित पार्टीमा लागेका छन् । नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीसहित १४ पदाधिकारीमध्ये १२ पदाधिकारी (राष्ट्रपति विद्या भण्डारी र उपाध्यक्ष वामदेव गौतमबाहेक) सबै एमालेमै छन् । तर, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एकीकृत समाजवादीमा छन् भने गौतमले एमालेबाट राजीनामा दिएका छन् ।

साबिक २१ सदस्यीय स्थायी समितिका नेपाल, खनाल र मुकुन्द न्यौपाने नयाँ पार्टीमा र १८ जना एमालेमै छन् । साबिक २ जेठ ०७५ अघिका ७७ जिल्ला कमिटी अध्यक्षमध्ये ६४ जना एमाले र १३ जना नेकपा एसतिर खुलेका छन् । साबिक कमिटीमा माधवकुमार नेपाल पक्षका ३८ जना अध्यक्ष रहेकोमा २५ जिल्ला अध्यक्ष एमालेतिरै बसेका छन् । गत चैतयता देशव्यापी बनाइएका संगठनात्मक संरचनामा रहेका कार्यकर्तामध्ये बहुसंख्यक नेता–कार्यकर्ता भने नेकपा एसतिरै खुल्दै गएका छन् । १७ वटा जनसंगठनमा बनेका समानान्तर कमिटीका अधिकांश नेता–कार्यकर्ता आफूतिर समेटिएका एकीकृत समाजवादीका नेताहरूको दाबी छ । नयाँ पत्रिकाबाट