आज नेपाल र बंगलादेश बीच महिला टिमको फुटबल हुने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २४, २०७८

काठमाडौं भदौ २४ । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशको महिला टिम सँग २ दिन दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार पहिलो खेल आज खेल्ने भएको छ ।

नेपालले बंगलादेशसँग दशरथ रंगशालामा पहिलो खेल आज बेलुका ५ः३० बजे र अर्को खेल आगामी सोमबार खेल्न लागेको हो । अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारीमा रहेको नेपालको महिला सिनियर टिमले बंगलादेशसँग दशरथ रंगशालामा खेल्न लागेको यो पहिलो पटक हो । यसअघि महिला टिमले सन् २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो ।

नेपालले बंगलादेशसँग पनि पहिलो पटक मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । झण्डै साढे तीन दशक लामो अन्तर्राष्ट्रिय इतिहास रहेको महिला फुटबल टिमले मलेसिया, कतार र कुवेतसँग मात्र मैत्रीपूर्ण खेल खेलेको छ । समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्नेछ । तीन टोली मात्र रहेको यस समूहको विजेता टिम भारतमा हुने एशियन कपका लागि छनोट हुनेछ । बंगलादेश भने समूह जीमा छ ।

यसपटक नेपालको मुख्य खेलाडी तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा टिममा हुने छैनन् । गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा घुँडामा चोट लागेपछि सावित्रा हाल कतारमा उपचाररत छिन् । महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । पछिल्लोपटक नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको थियो । विराटनगरमा भएको उक्त खेलमा सावित्राले पनि गोल गरेकी थिइन् ।