
धादिङ भदौं २० । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बाँडफाँट गरे सँगै धादिङका नेता राजेन्द्र पाण्डेले अदालत र निर्वाचन आयोग सम्बन्धी काम गर्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको गर्दा पाण्डेको जिम्मेवारीमा अदालत र निर्वाचन आयोग सम्बन्धी परेको हो ।
नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानी) मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल छन् ।
साथै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।