धादिङ भाद्र १७ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा मैत्रीपूर्ण दुई खेल हुँदैछ । यस अघि सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।
नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तोकेको छ । दुई मैत्रीपूर्ण खेलमध्य पहिलो खेल आज साँझ ५ः३० बजे सुरु हुँदैछ । एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकटको मुल्य तोकेको छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ ।
यस्तै भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।