धादिङबेसी भाद्र १६ । राष्ट्रिय वाणिज्य बैक धादिङबेसी शाखामा अब कारोबार गर्न जाँदा लाईनमा बस्नु नपर्ने भएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राखेर डिजीटल टोकन प्रणाली लागू गरिएको बैकले जनाएको छ । शाखा प्रवन्धक अनिरुद्र प्रसाद उपाध्ययका अनुसार बैकमा आउने सेवा ग्राहीको चाप बढ्यो, कोरोना संकट यथावत नै छ अब यस्तो परिस्थितिमा पहिलेको जस्तो घन्टौ लाईनमा बस्ने झन्झट हटेको छ ।
टोकन प्रणाली लागु गरेसंगै अब ग्राहकहरुलाई लामो समयसम्म लाइनमा बसी राख्नु पर्ने झन्झटको अन्त्य भएको छ । अब टोकन सिस्टम लागु भएपछि पालो अनुसार ग्राहकहरुले समयमै सेवा उपभोग गर्न पाउनेछन् ।’ एक दर्जन भन्दा बढी निजी बैक तथा वित्त संस्थाहरुको बीचमा रहेको राष्ट्रिय वाणिज्य बैंक धादिङबेसी शाखाले पहिलो पटक डिजिटल टोकन प्रणाली लागू गरेको हो ।
शुरुमा सेवाग्राहीहरुले बैंकमा पुगेपछि बैंक भित्रै राखिएको मेशिनबाट टोकन लिनुपर्छ । टोकनमा बचत गर्ने वा चेकबाट भुक्तानी लिने भन्ने नम्बर सहितको टोकन मेशीनले उपलव्ध गराउँछ । नम्बर अनुसार माइकबाट सेवाग्राहीहरुलाई बोलाइन्छ र उनीहरुले सेवा लिन पाउँछन् । टोकन मै कति जना पछि पालो आउछ भन्ने लेखिएको हुन्छ र नम्बर अनुसार नै सेवाग्राहीलाई नम्बरसहित बलाउने गर्दछ ।
‘विगतमा पछि आएकाले अघि र अघि आएकाले पछि सेवा लिँदा सेवाग्राही मात्रै हैन कर्मचारीलाई समेत हैरानी हुने गरेको थियो’ प्रवन्धक उपाध्ययले थपे, ‘टोकन प्रणालीले अब बैंकमा भिड नहुने र सहज रुपमा सेवाग्राहीले सेवा उपभोग गर्न पाउछन् ।’