धादिङमा अधिकाँश विद्यालय खुल्ला, स्कुल ड्रेस नलाउन उर्दी

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १५, २०७८

धादिङ भाद्र १५ । धादिङमा कोरोना संक्रमणका दर घटे सँगै अधिकाँश विद्यालयले भौतिक उपस्थिति मै पठन-पाठन सुरुगरेका छन् तर पढ्न जाने विद्यार्थीहरुले स्कुल ड्रेस लगाउन नपाउने नीति बनाईएको छ ।

धादिङबेसी सदरमुकाममा रहेका सबै विद्यालयहरुले भौतिक उपस्थिति मै कक्षा संचालन सुरु गरे पनि स्कुल ड्रेस भने लाउन नपाउने गराएका हुन् । स्कुल ड्रेस लगाउन दिँदा बजारमा स्कुल संचालन भएको हल्ला हुन सक्ने भएकोले स्कुल ड्रेस लगाउन नदिएको हुन सक्ने अभिभावकहरुको अड्कल छ ।

धादिङबेसी मिलनटोलमा रहेको एक विद्यालयले त स्कुल ड्रेस लगाएर स्कुल जाने विद्यार्थीलाई फेरि घर फर्काएर अन्य पोशाक लगाएर आउन भनेको घटना समेत बाहिरिएको छ । स्कुल संचालन लुकेर गर्ने कुरा हैन, कोरोना संक्रमण दर घटे सँगै स्कुल खुलाउनु राम्रै हो तर विद्यालय पोशाक नलगाउने सर्त ठिक नभएको अभिभावहरु बताउँछन् ।

धादिङमा कोरोना संक्रमण दर हेर्ने हो भने निकै कम भएको छ । मंगलबार धादिङमा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने संक्रमितहरु आईशोलसनमा अहिले ८८ जना मात्रै छन् ।