धादिङको क्रिकेट इतिहासः अनिल केसीले ल्याएका थिए पहिलो पटक क्रिकेट बल

Avatar photo
नारायण सिलवाल
शनिबार, भदौ १२, २०७८

धादिङ भाद्र १३ । धादिङमा जिल्लामा क्रिकेट खेल सुरुभएको २३ वर्ष पछि बल्ल क्रिकेट संघ गठन भएको छ तर यो संघले वैधानिकता भने अझै पाई सकेको छैन । ०७८ भाद्र ६ गते गठन भएको धादिङ जिल्ला क्रिकेट संघको तदर्थ समितिलाई धादिङको क्रिकेट ईतिहासमा ठुलो उपलब्धीका रुपमा लिईएको छ ।

धादिङको क्रिकेट इतिहासलाई हेर्ने हो भने धादिङमा पहिलो पटक ड्युज बल सहित क्रिकेट खेल सामाग्री ०५५ सालमा आफुले ल्याएको धादिङबेसीका अनिल केसी दावी गर्दछन् । म काठमाडौं कलेज पढ्दा इन्डियामा भएको वल्डकपबाट प्रभावमा क्रिकेट मोह बढ्यो काठमाडौमा रहँदा कलेजमा खेल्थे अनि धादिङमा आफुले ०५५ सालमा क्रिकेट बल ल्याई खेल सुरु गरेको केसी बताउँछन् । धादिङमा क्रिकेट विकासको लागि ०५८ मा तात्कालिन जिल्ला सभापति खेम प्रसाद लोहनीले धादिङबेसी पुछारबजार टिमलाई खेल सामाग्री खरिदको लागि २५ हजार सहयोग गरेका पाईन्छ ।

केसीका अनुसार आफुले बल ल्याई सेकपछि धादिङबेसीको सडकमा नन्दु घले, आन्द घले, राजु घले मिलेर प्राक्टिस गर्ने गर्दथ्यौं । यो क्रममा सन्तोष थापा, राजेश प्रजापति, मदन श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ पनि प्राक्टिसमा थपिए । प्राक्टिस चल्दै गर्दा अष्ट्रिलेयन नागरिकहरु धादिङबेसी आँसीखोला किनारमा टेन्ड टाँगेर बस्थे कुन प्रयोजनमा आएका थिए थाहा भएन तर हाम्रो क्रिकेट मोह देखेर उनीहरुले क्रिकेट रुल्सहरु सिकाएको केसी बताउँछन् ।

०५६ सम्म आईपुग्दा पुछारबजारमा १० जना भन्दा बढी खेलाडी उत्पादन भयो अनि हामीले सडक छाडेर आँसी खोला दोभानमा खेल्न थाल्यौं । नन्दु घले, आन्द घले अलराउण्डर, सन्तोष थापा ओपनिङ ब्याट्समेन, मदन श्रेष्ठ प्रिमियर बलर, सागर नेपाल विकेट किपरका रुपमा उदाय टिमको नेतृत्व म आफैले गर्थे केसी बताउँछन् ।

पुछारबजारमा राम्रो खेल चल्न थाले सँगै बीचबजारमा पनि ०५७ मा एउटा राम्रो टिम बन्यो । कमलराज ढुङ्गाना, गोरे गुरुङ, मनिश केसी, शंकर थापा, काँग्रेस नेता टेकजंग लामा, मदन बहादुर गुरुङ, भरत गुरुङ, कुमार गुरुङ, उमेश वाईवा, लेखबहादुर गुरुङ, दिपेश सुमन मम्बा लगायतको टिम बन्यो ।

बीच बजारको टिम बने सँगै धादिङबेसीमा हप्तामा २ खेल पुछार बजार र बीचबजार बीच हुन थाल्यो यो सँगै धादिङबेसीमा पञ्चकुमार श्रेष्ठले क्रिकेट खेल सामाग्री बेच्न थाले ०५८ को अन्त्य तिर आईपुग्दा मलेखु, गजुरी र बेनीघाटमा समेत क्रिकेट खेल्न सुरुभएको केसी बताउँछन् ।
०५८ सालमा अनिल केसी वैदेशिक रोजगारीको सिसिलामा विदेश गएपनि क्रिकेट मोह यथावत भएको पाईन्छ । धादिङका क्रिकेटका धरोहर अनिल दाई विदेश जानु भयो तर हामीले खेल जारी राख्यौं पुछारबजार र बीचबजार मिलेर एक टिम बनाईयो र ०५९ सालमा ३ दिनको म्याच चितवन सँग धादिङबेसीमा खेलिएको राजेश प्रजापति स्मरण गर्दछन् । पहिलो दिनको खेलमा मेरो मुखमा बलले लागेर घाईते बनेर उपचार गर्न काठमाडौं जानु परेकोले बाँकी दुई दिनेको खेल गुमाएँ अन्तत उक्त प्रतियोगिता चितवनले जितेको प्रजापति बताउँछन् । चितवनको टिम मिलिजुली होटलमा ७ दिन बस्यो, चितवनले धादिङका खेलाडीहरुलाई प्रशिक्षण दिएको उनले बताए ।

०५५-५७ मा धादिङबेसी पुछार बजारको टिम
अनिल केसी टिम, क्यप्टेन, अर्जुन कुमार श्रेष्ठ ब्याट्मेन, पुर्षोतम अर्याल, राजेश प्रजापति, मदन श्रेष्ठ प्रिमियर बलर, सुरेन्द्र श्रेष्ठ, सागर नेपाल विकेट किपर, सन्तोष थापा ओपनिङ ब्याट्समेन, नन्द घले, आनन्द घले, राजु घले, सन्तोष पाण्डे, मनोज अधिकारी, प्रकाश श्रेष्ठ, इजाहार खान, सौरव खाँण, राम कुमार श्रेष्ठ

०५६-५७ मा धादिङबेसी बीच बजारको टिम
कमलराज ढुङ्गाना, गोरे गुरुङ, फाष्ट बलर, मनिश केसी अलराण्डर, शंकर थापा, टेकजंग लामा, मदन बहादुर गुरुङ, भरत गुरुङ, कुमार गुरुङ, उमेश वाईवा, लेखबहादुर गुरुङ, दिपेश सुमन, मिलन गुरुङ

धादिङको मलेखु रिचोकटार स्थित बागेश्वरी स्कुलमा ०५५ सालमा भैरहवाबाट आएका डा. पर्शन उपाध्यायले क्रिकेट खेलबारे काठको ब्याड बनाई सिकाएको जानकारीमा आएपनि धादिङबेसीका अनिल केसीले जस्तै मलेखुका अनिल कडेल र सुवास सिलवालले ०५७ सालमा काठमाडौ कलेजमा पढ्दै गर्दा ब्याड र टेनिस बल लगेर औपचारिक क्रिकेट खेलको सुरुवात भएको पाईएको छ । यस सुरुवात सँगै अन्तर क्लव स्तरीय प्रतियोगितामा जम्दै गर्दा गजुरी, बैरेनी, बेनीघाट मझिमटारमा ०५९ पछि राम्रो माहौल बनेको तात्कालिन बेलाका टिम क्याप्टेन किशोर त्रिपाठी बताउँछन् । त्रिपाठीको नेतृत्वमा रहेको मलेखु टिममा इश्वर त्रिपाठी, प्रविण त्रिपाठी, सुदिप सिलवाल, अनिल कडेल, सुरेन श्रेष्ठ टाईसन, प्रदिप श्रेष्ठ, विशाल ढुङ्गाना, सन्देश सिलवाल, सिलवाल, संदिप कडेल लगायतले खेल्ने गर्दथे । यहि टिमले धादिङबेसीमा सम्पन्न भएको अन्तर क्लव स्तरिय प्रतियोगितामा धादिङबेसीको डीएसडी टिमलाई ०६७ सालमा पराजित गरेको थियो ।

धादिङमा ०५५ देखि ५९ सम्म आईपुग्दा क्रिकेटले जति गतिलिएको देखिन्छ त्यहि अनुपातमा नभए पनि जिल्लाका टोलटोलमा क्रिकेट मोह बढ्दै गयो, यो सँगै ०५९ सालमा दिनेश कडेल र जिवन जम्कट्टेलले बेनीघाटमा क्रिकेट खेलको सुरुवात गरेको पाईएको छ । यो सँगै बेनीघाटले अन्तर क्लव स्तरीय प्रतियोगिता गरेको थियो । उमेश श्रेष्ठको कप्तानीमा रहेको यस बेनीघाटमा संजोग श्रेष्ठ, विकास श्रेष्ठ, सुरेन श्रेष्ठ टाईसन, गुरकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, जिवन जमकट्टेल, दिनेश कडेल, शुसिल रेग्मी, सुन्दर श्रेष्ठ, रवि गिरी लगायतका खेलाडी थिए । बेनीघाटले हाल सम्म ४ वटा जिल्ला स्तरीय प्रतियोगिता गरि सकेको छ जसमा पहिलो प्रतियोगिता ०६१ मा थ्रीडी कप भएको थियो यो प्रतियोगितामा बैरेनीलाई हराउँदै चरौदी प्रथम भएको थियो । त्यसपछि ०६५ मा भएको कारु मेमोरीयल कपमा धादिङ समाज धादिङ प्रथम भएको थियो भने ०७६ को कारु मेमारिएन कप आयोजक बेनीघाट बीले जितेको थियो । यस्तै ०७७ मा भएको खुल्ला जिल्ला स्तरीय प्रतियोगितामा त्रिपुरासुन्दरी क्रिकेट टिमलाई हराउँदै धादिङ समाज धादिङ प्रथम भएको थियो ।

धादिङबेसीका पुराना खेलाडीहरुको खेल मोहबाट उत्पादन भएका नयाँ पुस्ताको खेलाडी धादिङ समाज धादिङबाट खेल्न थाले धादिङको क्रिकेट ईतिहास ०६० देखि ०७० सम्म निकै गरम देखिएको थियो धादिङबेसीका खेलाडी भनेर चिनिने धादिङ समाज धादिङका खेलाडीहरुमा गोकर्ण भण्डारी, रविन्द्र गुरुङ, हेम तामाङ, संजिव श्रेष्ठ, संजय सापकोटा, गोपीकृष्ण भण्डारी, भरत गुरुङ, अनिल तामाङ, रामचन्द्र श्रेष्ठ, सन्तोष पाण्डे लगायत थिए । धादिङ समाज धादिङले पनि ३ वटा जिल्ला स्तरीय प्रतियोगिताहरु गरेको पाईएको छ । जसमा ०६६ मा भएको प्रतियोगिता दिनेश कार्कीको कप्तानीमा रहेको बैरेनी टिमले जितेको थियो भने ०६७ मा भएको प्रतियोगितामा मलेखुले जितेको थियो यस्तै ०६९ सालमा सम्पन्न प्रतियोगिता आयोजक धादिङ समाज धादिङले नै जितेको थियो ।

गजुरीको क्रिकेट सरुवातको बारेमा क्यान धादिङका सचिव सन्दि सापकोटाले बताउनु भए अनुसार गजुरीमा २०५१ साल तिर गजुरी बोर्डिङ स्कुल सरहरु उदिप श्रेष्ठले खेल्नु हुन्थ्यो तर गजुरीमा क्रिकेटको माहौल बनेको भनको ०५७-५८ बाट हो । प्रतिक खरेल, गोविन्द श्रेष्ठ, सुरज खरेल, सुजित नेपाली लगायतका खेलडीहरु थिए । म आफु भने लेग स्पिन बलिङ सिक्न थालें भिषण खरेल, अशोक थापा, विजयी दुवाडी निरोज रिजाल ०६० साल तिर गजुरीमा उत्कृष्ठ भित्र पर्दथ्यौं । आदर्श माविमा ०६० तिर भएको थियो । ०६३÷०६४ सालमा भएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा गजुरीबाट सहभागि भएँ । त्यो खेलमा मैले ३ ओभरमा ४ विकेट लिएको थिँए । पछि सन् २०१३ मा सोमपाल कामी, अविनाथ अधिकारीहरु सँग छनौंट खेल्ने अवसर पनि पाएँ । त्यसको २ वर्ष पछि यु १९ को राष्ट्रिय टोलिमा समेत छनौट हुन पुगें । गजुरी सामुदायिक समाजले ०७३ सालमा अन्तरक्लव स्तरिय टी २० प्रतियोगिताको आयोजना गरेको थियो । जसमा आयोजक गजुरी नै प्रथम भएको थियो ।

बेनीघाट रोराङको मझिमटारमा क्रिकेट सुरु गर्दाको स्मरण गर्दै सूजन कुमार भट्टराई भन्छन्, ०६२ सालबाट हामीले यहाँ क्रिकेट सुरु गरेका हौं । चितवनमा नेपालका पुर्व कप्तान राजु खड्काले चलाउनु भएको एकेडेमीमा सिकेर हामी दुई भाई सुजन र शंकर भट्टरार्ईले सर्वप्रथम बेनीघाटको हुग्दिखोलाको बजारमा क्रिकेट सुरु गरेका हौं । विस्तारै हामीले शुनगाभा क्लवको सहयोगमा ब्याड खरिद गरि मझिमटार स्थित चौरमा प्रदिप देवकोटा, शैलेस रिजाल, निरज रिजाल, विजय रिजाल, सुदन कडेल लगायतको टिम बनाईयो ।

धादिङको गल्छीका दिनेश कार्की भन्छन्, हामी साना ठुला गरी १० वटा अन्तर क्लव स्तरीय प्रतियोगिताहरु खेल्यौं । धादिङबेसीमा धादिङ समाज धादिङले ०६६मा आयोजना गरेको अन्तर क्लव स्तरीय प्रतियोगिता चाख लागदो थियो त्यो बैरेनीले नै जितेको थियो । बैरेनी टिममा दिनेश कार्की क्याप्टेन, उमेश कार्की, रञ्जनकाजी श्रेष्ठ, रामकृष्ण रिमाल, सुवास श्रेष्ठ लगायत थिए ।

यस्तै बेनीघाटले ०६१ मा गरेको प्रथम थ्री डी कप प्रतियोगिताको विजेता चरौंदी क्लव जितेको थियो जसको क्याप्टेन उज्वल रिजाल थिए भने खेलाडीहरुका, रोशन कुमार सुवेदी, मिलन सुवेदी, राजु गुरुङ, रामकुमार सुवेदी लगायतले खेलेका थिए ।

धादिङमा पछिल्लो जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता ०७७ फागुनमा धादिङपोष्ट डटकम र कारु मेमोरियल बेनीघाटले बिशालटारमा गरेको थियो । यस प्रतियोगितामा जिल्लाका क्रिकेट टिम गल्छी, नौविसे क्रिकेट टिम धुनीबेसी, साङकोष क्रिकेट क्लव नीलकण्ठ, त्रिपुरासुन्दरी क्रिकेट टिम, त्रिपुरासुन्दरी, विशाल ज्योती क्लव बेनीघाट रोराङ, गणेश हिमाल क्रिकेट नीलकण्ठ, गजुरी क्रिकेट टिम गजुरी, धादिङ समाज धादिङ नीलकण्ठ, मलेखु क्रिकेट क्लव बेनीघाट रोराङ र कारु मेमोरियल ट्रष्ट बेनीघाट रोराङ सहभागि थिए यो प्रतियोगिता धादिङ समाज धादिङले जितेको थियो

एउटा पनि क्रिकेट मैदान नभई रहेको अवस्थामा बेनीघाट रोराङ गाउँपालिकाले ०७६ सालमा खेल मैदानको डीपीआर बनाएर राखेपमा प्रस्ताव गरे सँगै राखेपको क्रमागत योजनामा पहिलो वर्ष ५० लाखको काम भएपनि हाल त्यो अगाडी बढ्न सकेको छैन । यस्तै साङ्कोस क्रिकेट क्लवले आफैले क्रिकेट खेल मैदान निमार्ण सुरुगरेको छ अब १० लाख खर्च गर्न सकियो भने खेल मैदानले आंसिक पुर्णता पाउने क्लवका अमन ढकाल बताउँछन् ।
(नोटः धादिङ जिल्लाको क्रिकेट इतिहास खोज अभियानमा हामीले प्राप्त गरेको तथ्याङ्कलाई आधार बनाएरपोष्ट गरिएको हो । यसमा छुटपुट भएको भए थपघट गर्दै जाने छौं -सम्पादक)