धादिङका चार गाउँपालिकाको बेरुजु २४ करोड

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १०, २०७८

धादिङ भाद्र १० । धादिङका चार वटा गाउँपालिकाको बेरुजु २४ करोड रुपैयाँ भन्दा बढी रहेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक गरिएको ५८ औँ वार्षिक प्रतिवेदनमाधादिङका चार गाउँपालिकाको २४ करोड बेरुजु रहेको पाईएको हो ।

महालेखा परिक्षकको कार्यालयले लेखापरिक्षण गरेको गजुरी, बेनीघाट रोराङ, खनियाबास र गंगाजमुना गाउँपालिकाको बेरुजु २४ करोड रुपैयाँ भन्दा बढी रहेको महालेखाले जनाएको छ । प्रतिवेदन अनुसार २४ करोड ३० लाख ९१ हजार रुपैयाँ बेरुजु रहेको छ ।

गजुरी गाउँपालिकामा १ अर्ब ३३ करोड ६ लाख ३० हजारको लेखा परीक्षण गर्दा १० करोड ४२ लाख ४७ हजार रुपैयाँ अर्थात ७ दशमलब ८३ प्रतिशत, बेनिघाट रोराङ गाउँपालिकामा १ अर्ब २५ करोड ५ लाख ३१ हजारको लेखा परीक्षण गर्दा ४ करोड ३१ लाख ५ हजार अर्थात ३ दशमलब ४५ प्रतिशत, खनियाँबास गाउँपालिकामा ४८ करोड ७५ लाख ९४ हजारको लेखा परीक्षण गर्दा ३ करोड २७ लाख २३ हजार अर्थात ६ दशमलब ६७ प्रतिशत र गंगाजमुना गाउँपालिकामा १ अर्ब ३ करोड ७ लाख ६६ हजारको लेखा परीक्षण गर्दा ६ करोड ३० लाख १६ हजार अर्थात ६ दशमलब ११ प्रतिशत बेरुजु देखिएको हो ।

१३ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७६/७७ मा धादिङका निलकण्ठ र धुनिवेशी नगरपालिकाका, सिद्धलेक, गल्छी, ज्वालामुखी, त्रिपुरासुन्दरी, रुवीभ्याली, थाक्रे, र नेत्रावती डब्जोङ गाउँपालिकाले लेखा परिक्षण गराएका छैनन् ।