धादिङका लाजनीतिक दल र नेताबारे जानौं (४ वर्ष पहिले लेखिएको व्याङ्ग्य)

Avatar photo
Dhadingpost
सोमवार, भदौ ७, २०७८

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले विक्षिप्त उनकी रानीलाई परेको वियोगको शोकका बदल्न गाईजात्राको सुरुवात भएको पाईन्छ । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ हामीले पनि धादिङका नेताहरुको विषय व्याङ्ग्य गरिएको पुरानो सामाग्री यहाँ प्रस्तुत गरेका छौं ।

०४६ सालको जनआन्दोलनमा महत्वपूर्ण भुमिका निभाएको तर अहिले लाजनीतिमा रुपान्तरण हुँदै एनजिओ पार्टीको रुपमा स्थापित पार्टी, धादिङमा सारै चर्चामा छ । साम, दाम दण्ड भेद देखि छलछाम गर्न जान्ने जति सबै, स्तर हेरी यो पार्टीमा आवद्ध भएका छन् ।

एनजिओ पार्टीका नेताहरुको परिचयः
१. पाडे हो मेरो परिचय काडमाडौमा बसेर दक्षिण हाक्छु, पार्टीको आडमा अस्पताल, कलेज र सहकारीमा कार्यकर्ता भर्ती गर्छु । मृगौला वेचबिखन देखि मेनपावर खोलि मान्छे विदेश पठाउँछु मिडियामा छाउन मलाई धेरै मजा लाग्छ आरोप त मानव तस्करीको पनि लाग्न थालेको छ ।

२. गंगा कहिलै रातो देख्नुभएको छ ? त्यसैले म आफुलाई लाल मात्र भएको बताउँछु । मलाई प्रत्यक्ष चुनाव लड्न डर लाग्छ तर पनि समानुपातिकबाट आफ्नो हैसियत कायम राखेको छु, भुकम्प आएकोले मलाई डिग्रि गर्ने अवसर पनि जुट्यो अलि अलि कमाईयो तर पनि अनुशासन कमिटि चुस्त दुरुस्त राख्न तल्लिन छु ।

३. पटक पटकको पराजय पछि अस्थायी सरकारी जागीर मिलेको छ, पार्टीका गोली मान्छेहरुले रिस गर्दछन् । १ वर्ष भरिमा धादिङको ग्रामिण सडक पुरै पिच गर्ने अभियानमा छु । जनताको काम, आफुलाई माम त्यसले जनताले मलाई फुर्लाकोटी उपमा दिएका छन् ।

४. नेताको शरणम् आफ्नो कर्तव्य हो, जस्ले बोलीको गोली ठोक्छ त्यहि नेता बन्छ म त्यहि पृष्ठभुमबाट अध्यक्ष बनेको थिँए ।
५. म पढेलेको छु, जाँड खाँदा अंग्रेजी राम्रै फुर्छ, केन्द्रमा पहुँच राख्छु, जिल्ला चलाउनु छैन, कमाउने परिपार्टीको विरोधी हुँ तर आफुले अलि अलि कमाउन सल्लाह पाएको छु । त्यसैले होला पूर्वे सभापति पनि भन्छन् ।

खिचडी काँग्रेस
नेपाली काँग्रेस त हामी सबैले सुनेको पार्टी हो, अहिले यहि पार्टी खिचडी पार्टीमा रुपान्तरण भएको पाईएको छ । स्थानीय चुनावमा भोट खुबै बेचेको यस पार्टीका नेताहरु स्वयम् बताउँछन् । एउटै कार्यक्रममा दुई सभापति राख्ने यस पार्टी आफुलाई जेठो र जुठो र खिचडी पार्टी भएको ठान्छ ।

खिचडी काँग्रेस नेताहरु
१. मुखमा रामराम बगानीमा छुरा भन्छन्, बाहुनको छोरो हुँ भित्र जे गरेनी बाहिर त राम राम भन्नै प¥यो नि, राजनितिमा लागेर आफुले नकमाए पनि केहि ठेकदाहरुले राम्रै कमाएका छन् बस भन्छन्, खा भन्छन्, आफुलाई यत्ति भए पुगिगो । खिचडी काँग्रेसको केन्द्रिय सदस्य बन्ने धोको छ लठ्यब्रोले आफ्नो कहिल्यै सोच्दैन । कालले लैजाओस् भनुम् भने पनि अधिकारी बाहुन परें नराम्रो सोच्नु भएन ।

२. म एक्काइसौ शताब्दीको मुन्द्रे नेताको रुपमा स्थापित हुन मनछ जिल्ला सभापति चलाउन गारो हुँदो रहेछ, २ वटा नगरपालिकाको मेयर र उप मेयरको उम्मेदारी त आफ्नो निर्णय गर्न पाईदैन सिधै खिचडी केन्द्रबाट आदेश आउँछ । त्यसैले म मुन्द्रे डनको नेता बन्न रहर छ । जिल्लाभर धमलाले गर्छ हमला भन्ने ध्वनी छर्न चाहन्छु ।

३. खिचडी काँग्रेसको एनजिओ नेता हुँ, म अब व्यापार पार्टीमा गुण्डा मुन्द्रेहरुको राज गर्न नदिने अन्तिम तयारीमा छु । जिल्लाको चलेको एनजिओ मेरै छ, करोडौको वजेट पास गर्न पढेलेखेका बज्रस्वाँठहरु राखेको छु, रिपोट तयार गर्छन् आधा उनीहरु खान्छन् आधा मेरो जनपेट लागे कै छ । नामै नगर छ काम के गर्ने तर यसको प्रमुख छु । यसको बजेट आफु अनुकुल खर्च गर्ने हो जनतालाई यहि भन्देको छु । अब खिचडी काँग्रेस मेरो हो ।

खाओवादी केन्द्र
यो पार्टी विगत केहि वर्ष देखि धादिङ जिल्लामा कहिले लेउ जस्तै कहिले झयाउ जस्तै गरि अगाडी बढ्दै आएको पार्टी हो । यसको नाम खासका कहिले के हुन्छ अड्कल काट्न गारो छ । यो पार्टी अहिले खाओवादीमा रुपान्तरण भएको धेरै भएको छैन जान्ने बुझनेहरु अन्दाज गर्दै भन्छन् सायद ०६८ पछि खाओ रुपान्तरण भएको हो । केटी काण्डदेखि जुवा काण्ड भ्रष्ट काण्ड र चन्दा आतंकको आरोप खेप्नुपर्ने र गुटै गुटको पार्टी भएको खासखुस सुनिन्छ । यो पार्टीको नेताहरुको नाम पनि सर्पको काचुली जस्तै फेरि रहन्छ ।

खाओवादीका नेताहरु
१. आर्थिक रुपमा जम्प गर्न सक्छु, २–४ करोड अदृष्य जोडियो होला, रेडियो, बालुवा तिर लगानी गरियो होला, तर काठमाडौको घर चाहि श्रीमतीको हो भन्ने गरेको छु । केन्द्र पार्टी संग सिधै सम्पर्क गर्न सक्ने र मिडियाको मालिक भएकाले चुनाव भन्दा बाहेक अरुबेला पछारिनु परेको छैन । सम्पत्ती र निरङ्कुशताको आवाज उठाए केटी काण्ड र जुवा तस्करी काण्ड उठाई दिन्छु केन्द्र चुप तलका तलै । पैसा हुने साहुहरु एकाध बाहेक जुन पार्टीका भएनी आफ्नै कब्जामा छन् । गुट हल गर्न धादिङ आको आफै गुटको गोल चक्करमा परियो तर म जम्प हान्न सक्ने नेता हुँ तैसैले मलाई खाओवादी केन्द्रको जम्प कटेल भन्दछन् ।

२. सत्य युगका भगवान त के बलिया थिए र गोलीले छेडेर अब मामा घर गयो भनेर बाँचेको व्यक्ति हुँ । अहिले पनि आफु जस्तै अरु २–४ जनालाई लडाउन सक्छु, म त्यति बलियो छु । द्धापर युगमा भए मलाई बलराम भन्थे होला तर अहिले हराम बहादुर भन्छन् । आँट र जोस १६ वर्ष जस्तै छ । खाओवादी नामाकारण चेन्ज गर्ने मेरो प्रस्ताव पास भएन । अहिले हराम बहादुर भनेर जम्प कट्टेलहरुले उपनाम दिएका छन् चित्त बुझाएको छु ।

३. खाओवादी केन्द्र नाम सुन्दा अप्ठ्यारो लागे पनि आखिर सबैले खाए कै छन् सबैको प्रतिनिधित्व गर्ने पाटीको नेता हुँन पाउँदा खुसी छु आफ्नो परिचय दिन पर्दा म आगन्तुक परिवारबाट आश्रित व्यक्ति हुँ हाम्रो यताउता उतायता सबै खाओवादी तिरै छौ । खाओवादी भित्रको पिडितहरुको पक्षको नेतृत्व गरे जस्तो लाग्छ कुनै दिन आफुहरुको पनि विजय फुर्ला भन्ने आशावादी भएकोले होला बजारमा फुर्लाकोटी भन्छन् रे ।

४. खाओवादी केन्द्र भनेर मात्र हुँदो रहेनछ, मौकामा हिरा फोर्न नसक्दा ओझेल परियो, खाओवादी केन्द्र भित्र केहि थाहा नपाउने गरि खाईयो होला तर अहिले मौकामा हिरा फोर्न सकेको छु । खिचडी काँग्रेसले सरकारी जागिर खुवाइ दियो, आफु खाइन्छ, अनि बाँकी भए अरुलाई खुवाइन्छ । कहाँ त्यो पहिलेको म यो मने भँडारी हुँ र ।

५. के के न होला भनेर घर फुटाईयो तर घर चलाउन गारो रहेछ त्यसैले खोओवादी तिरै फर्केको । सबैले अवसरबादी भन्छन् कमाउन आको भन्छन् त्यसैले निल्नु न ओकल्नु भयो घर फुटाएर भाग्नु नै आत्मग्लानी भै रहेको छ नत्र यहि बसेको भए खाओवादी केन्द्रको गर्व गर्ने खालको नेता बन्न सक्थे होला, अब त चिन्नु भयो होला जय शम्भो ।

(यो व्याङ्ग्य ०७४ सालमा धादिङबेसीबाट प्रकाशित हुने सूचक सन्देश पत्रिकाले प्रकाशन गरेको गाईजात्रे विशेषबाट साभार गरेका हौं ।, कोहि कसै सँग मेल खान गए संयोगका रुपमा बुझिदिनु होला)