बागमतीमा एमाले विभाजनको असर यस्तो छ

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ४, २०७८

काठमाडौं भाद्र ४ । सत्तारोहणलगत्तै संकटमा अष्टलक्ष्मी एकल बहुमतको सरकार बचाइराख्ने रणनीतिसहित मुख्यमन्त्री फेरबदल गरे पनि बागमतीमा एमाले सरकार संकटमै छ । निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्ता भए नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाउने देखिन्छ । उनले २ असोजभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।

एक सय नौ सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउन ५५ सांसद चाहिनेमा एमालेसँग हाल ५६ सांसद छन् । तर, सांसद राजेन्द्र पाण्डे र मुनु सिग्देल माधव नेतृत्वको पार्टीमा खुलिसकेका छन् । यी दुई सांसदको मत नपाउँदा मात्रै पनि शाक्य अल्पमतमा पर्नेछिन् ।

पाण्डे र सिग्देलले नेकपा समाजवादी दर्ता भएपछि आफूहरूले शाक्यलाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन् । आफूहरूसँग १२ सांसद रहेको दाबी गर्दै उनले भने, ‘विगतमा हामीसँग २२ सांसद थिए । हाम्रो नयाँ पार्टीलाई १२ सांसदको साथ छ । शाक्य एमालेमै रहे हाम्रा कुनै पनि सांसदले उहाँलाई विश्वासको मत दिने छैनन् । र, उहाँको सरकार ढल्नेछ ।’ उनले पार्टी दर्तापछि शाक्यले एमाले छाडेर एमाले समाजवादीको तर्फबाट मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरे । एमाले समाजवादी को केन्द्रीय सदस्य बनेकी सिग्देलले पनि मुख्यमन्त्री शाक्य एमाले समाजवादीमा आए मात्र विश्वासको मत दिने बताइन् ।

तर, शाक्यले भने आफू एमालेमै रहने स्पष्ट पारेकी छिन् । ‘म नेताद्वय केपी ओली र माधव नेपालसँग सल्लाह गरेरै मुख्यमन्त्री बनेकी हुँ,’ उनले भनिन्, ‘कसैले भ्रम सिर्जना नगरे हुन्छ, म नेकपा एमालेमै रहनेछु ।’ उनले आफू बहुमतको दलबाट मुख्यमन्त्री बनेकाले विश्वासको मत लिन नपर्ने दाबी गरिन् । समाचार स्रोतः नयाँ पत्रिका दैनिक