
धादिङ साउन ३१ । नेपालको बहु चर्चित धादिङ र गोरखाको सिमानामा पर्ने जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना छिटो निर्माणगर्न युवा दवाव समूह गठन भएको छ । शनिबार बेनिघाटमा सम्पन्न भेलाले रबि अधिकारीको संयोजकत्वमा १४ सदसिय बुढीगण्डकी जलविद्युत जनसरोकार युवा दवाव समूह गठन गरको हो ।
१२ सय मेगावाट बिजुली उत्पादन गर्न पृथ्वीराजमार्गको बेनीघाटबाट उत्तर तर्फ २ किमी टाढाको दुरीमा गोरखाको घ्याल्चोक र धादिङको सलाङ गाविसको बिचमा २ सय ६३ मिटर उचाई र ७ सय मिटर चौडाईको बाँध निर्माण हुने यस आयोजनाको सुरुका चरणमा कामले गति लिएपनि हाल सरकारको प्राथमिकतामा पर्न छाडेको छ ।
यस आयोजना सम्पन्न भएपछि नेत्रावती (आँखु) मा २२ किमी र बुढीगडण्डकीमा करिव ४५ किलोमिटर मानव निर्मित ताल निर्माण हुनेछ जुन ताल पोखराको फेवा ताल भन्दा १६ गुणा ठूलो हुनेछ ।
यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा परिणत गर्न करिव २ सय ३५ किलोमिटर लम्बाइको चक्रपथ निर्माण र चक्रपथ वरपर १० वटा पर्यटकीय ग्रामिण सहरहरु निर्माण हुनेछन् । रंगशाला, प्याराग्लाइडिङ, मोटरबोट, रिसोर्ट, रेष्टुरेण्ट र हरित सडकहरुको अवधारणा पनि ल्याइएको छ ।
