
धादिङ साउन ३१ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले वडा देखि केन्द्रिय महादिवेशनको नयाँ मिति सार्व जनिक गरेको छ । यसअघि तोकिएको वडा तहको अधिवेशनको मिति कटिसकेको छ । भदौमा तय भएको महाधिवेशन हुन नसक्ने भएपछि नयाँ मिति तोकेको हो ।
बैठकले १४ औं महाधिवेशन ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । काँग्रेसले वडा तहको अधिवेशन १८ भदौमा गर्ने भएको छ । काँग्रेसले २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । १८ भदौमा वडा अधिवेशन सकेर गाउँ तथा नगर अधिवेशन २७ भदौमा तोकेको छ ।
प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकका लागि तोकिएको छ । काँग्रेसको वडा तह देखि महाधिवेशनसम्म ३ महिना पूरा लाग्ने गरी कार्यतालिका बनाइएको छ ।
नयाँ कार्यतालिका
१. वडा अधिवेशन : २०७८ भाद्र १८ गते
२. गाउँ/नगर पालिका: २०७८ भाद्र २७ गते
३. प्रदेश क्षेत्र क/ख: २०७८ आश्विन १ गते
४. संघीय निर्वाचन क्षेत्र : २०७८ आश्विन ५ गते
५. जिल्ला : २०७८ आश्विन १० गते
६. प्रदेश: २०७८ कार्तिक १०-१२ गते
७. केन्द्रीय : २०७८ मंसिर ९-१३ गते
कांग्रेस धादिङको सभापतिमा ५ आकांक्षी
नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । काठमाडौं सँग जोडिएको धादिङमा जिल्ला नेतृत्वका लागि पुरानै अनुहारहरु जिल्ला सभापतिको आकांक्षीका रुपमा देखिएका छन् ।
दुई कार्यकाल जिल्ला सभाति भैसकेका रामनाथ अधिकारी, हालका जिल्ला सभापति रमेश धमला र धादिङ कांग्रेसमा सबैभन्दा बढी अन्यायमा परेका बासु तिमल्सिना रामचन्द्र प्यानलबाट जिल्ला सभापतिको आकांक्षी हुन् ।
यस्तै पूर्वमन्त्री दिलमान पाख्रिन र यस अघि जिल्ला सभापतिमा रमेश धमला सँग पराजय भएका नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना शेरबहादुर देउवा प्यानलबाट जिल्ला सभापतिको आकांक्षी हुन् ।
रामचन्द्र पौडेल प्यानलबाट आकांक्षी देखिएका ४ जना मध्य जस्ले दक्षिण धादिङका पुराना नेता हरि अधिकारीको समर्थन पाउँछ उ नै जिल्ला सभापतिको उम्मेदवार बन्ने सम्भावना छ । राजनीतिक जीवनमा कुनै पदको दावी नगर्ने तर धादिङ कांग्रेसको राजनीतिमा प्रभाव पार्न सक्ने नेता हरि अधिकारी केन्द्रित बनेको देखिन्छ धादिङको पौडेल प्यानल ।
यस्तै देउवा पक्षका मन्त्री समेत भैसकेका दिलमान पाख्रिन र भिम प्रसाद ढुङ्गाना दुबै आकांक्षी देखिए पनि उम्मेदवारी दिने दिन सम्म यी दुई जना मध्य एक चुनावी मैदानमा जाने सम्भावना रहेको स्रोत बताउँछ । १३ औं जिल्ला अधिवेशनमा धमलाले २ सय ९० मत प्राप्त गर्दै सभापति बनेका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी भिमप्रसाद ढुङ्गानाले २ सय ६४ मत प्राप्तगरेका थिए ।
अहिले देउवा पक्षका पाख्रिन पूर्व मन्त्रि भएका र ढुङ्गाना सडक बोर्ड देखि नीलकण्ठ नगरपालिका प्रमुख भए सँगै स्रोत साधन र कार्यकर्ताको सम्बन्धमा बढी क्रियाशिल देखिएकोले देउवा पक्षका ढुङ्गानाले टिकट पाए भने पौडेल पक्षलाई चुनाव जित्न फलामको चिउरा चपाए सरह हुने बताईन्छ ।
