
धादिङ साउन २० । नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ । पहेँलो दूधले खोप सरह शिशुलाई रोगबाट बचाउँछ । साथै रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि विश्व स्तनपान दिवस साउन १७ बाट नेपालमा सुरु भएको छ । सउन २३ गतेसम्म बनाईने यस दिवसको नारा हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी भन्ने रहेको छ ।
स्वास्थ्य कार्यालय धादिङले आज पत्रकार भेटघाट कार्यक्रम गरेर यस दिवसको सप्ताह व्यापी कार्यक्रम बारे जानकारी गराएको छ ।
बाल स्तनपानमा ध्यान दिनु पर्ने कुरा
- स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनु पर्दछ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ ।
2. आमाले स्तनलाई c (अंग्रेजी अक्षरको सी आकार) आकारमा समात्नु पर्दछ । बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ ।
3. शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको दूध पूर्ण खाली हुनेगरी दूध खुवाउनु पर्दछ । त्यसपछि अर्कोपट्टिको स्तनपान गराउनु पर्दछ । शिशुले जति दूध चुस्छ त्यति नै बढी मात्रामा दूध रसाउँछ ।
4. दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्यूँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।
5. सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोसिलो खाना खानु पर्दछ, जस्तैः दाल, गेडागुडी, दूध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।
6. सुत्केरी भएको ४२ दिन भित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानु पर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।
7. सुत्केरी भएको ४५ दिनसम्म नियमित रुपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानु पर्दछ ।
8. दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकालाई सम्पर्क गर्नु पर्दछ ।
9. एचआइभी सङ्क्रमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दूधसँग पूरक खाना पनि दिनुपर्छ । तर एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै नजिकको स्वास्थ संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्छ ।
आमाको लागि स्तनपानको महत्वः
- बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ ।
2. बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।
3. आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ । यो कम खर्चिलो हुन्छ ।
4. आमा र बालबालिका बीचको माया ममता बढ्छ । बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छ ।
5. महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।
6. महिनाबारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रुपमा काम गर्छ । तस्वीर स्रोत युनिसेफ