
धादिङ साउन १५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनौट प्रतियोगिता भाद्र १ गते देखि गर्ने भएको छ । दर्ता भएका नयाँ सबै क्लवहरुले उक्त प्रतियोगितामा भाग लिन जान पाउने भए पनि धादिङबाट अहिले सम्म बैरेनी युवा समूह बाहेकका क्लवहरुले निर्णय गर्न सकेका छैनन ।
साउन २४ गते भित्र एन्फाले तोके बमोजिकको सर्त पुरा गरि छनौट प्रतियोगितामा सहभागि हुन सी डिभिजन नपुगेको इच्छुक क्लवले टिम दर्ता गराउनु पर्ने प्रवाधान अनुरुप अहिले सम्म गल्छीको बैरेनी युवा समूहले आफ्नो टिममा रहने खेलाडी शनिबार गलौंदी स्थित खेल मैदानमा छनौट गर्न लागेको छ ।
जिल्लाका अन्य नाम चलेका क्लवहरुले अहिले सम्म तयारी गरेका छैनन् । टिम दर्ता ३० हजार लाग्ने, खेलाडीको भत्ता, ड्रेस, वीमा, पीसीआर परिक्षण लगायतका कम्तिमा पनि ४–५ लाख सम्म क्लवले खर्च गर्नु पर्ने अवस्था भएकोले क्लवहरुले यस प्रतियोगितामा सहभागि हुन इच्छा नदेखाएका हुन सक्ने बताईन्छ ।
बागमती प्रदेश विजेता हुँदै अन्तर प्रदेश लिग समेत खेलि सकेको धादिङ समाज धादिङ, जिल्ला स्तरीय एन्फा कपको हाईस्कोरर भद्रकाली युवा क्लव, यस्तै गाउँ-गाउँमा खेलाडीहरु उत्पादन गरि लाखौंका प्रतियोगिता गर्ने क्लवहरु, यस सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनौट प्रतियोगिता जान भने खर्च व्यवस्थापनमा डराई रहेका देखिन्छन् ।
यस छनौट प्रतियोगितामा सहभागिहरु बीच भएको प्रतियोगिताबाट छानीएका ३ टिम मात्रै सहिद स्मारक सि डिभिजन लिगमा पुग्ने एन्फा धादिङका महासचिव रामहरि थापाले बताउनु भयो ।
धादिङको खेलकुद विकासमा स्थानीय सरकारहरुले जति सुकै खेल प्रेमी कुरा गरेपनि दवाव रहित रुपमा खेलकुदमा बजेट व्यवस्थापन गरेको देखिँदैन यो दुखद पक्ष हो । यस छनौट प्रतियोगितामा आर्थिक व्यवस्थापनमा क्लवहरु कमजोर देखिए स्थानीय सरकारले सहयोग गरेर भएपनि खेलाडीहरुलाई आफ्नो खेल क्षेमता देखाउने अवसरबाट बन्चित गर्न नहुने खेल प्रेमीहरु बताउँछन् ।
