धादिङका भरत गुरुङको गोली हानी हत्या

Avatar photo
Dhadingpost
बिहिबार, साउन ७, २०७८

धादिङ साउन ७ । धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ चितवन भरतपुर–१७, स्थित बनगाई डेरी चोकमा गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएका छन् ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक भरत गुरुङ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हवल्दार रहेको खुल्न आएको छ ।

गुरूङको एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा थोरै माथिबाट निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

यद्यपि यसको पुष्टि पोस्टमार्टम रिपोर्टबाट मात्रै आउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । घटनास्थल नजिकै गोलीको खोका र रगतसमेत देखिएकोले गोली हानेर गुरुङको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हालसम्म घटनाको विषयलाई लिएर प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।