
धादिङ साउन ५ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित रिचोकटारमा रहेको वागेश्वरी माविमा एउटै बेन्चमा ५ जना सम्म विद्यार्थी बसेर पढेको पाईएको छ ।
कक्षा ११ र १२ को पढाई भौतिक उपस्थितिमा हुन थालेको दुई हप्ता हुन लाग्यो स्वास्थ्य सुरक्षाको मापदण्ड विद्यालयको तर्फबाट भएको छैन एउटै बेन्चमा ५ जना सम्म बसेर पढ्नु पर्ने वाध्यता रहेको विद्यार्थी बताउँछन् ।
धेरै जसो विद्यार्थी मास्क समेत लगाउँदैनन् विद्यालयले कडा गरेको पनि छैन कुन दिन कोरोनाको शिकार हुने हो त्रास मै पढ्ने गरेको एक विद्यार्थीले नाम नबताउने सर्तमा धादिङपोष्टलाई जानकारी गराए ।

चन्द्रोदय माविको शिक्षक नै संक्रमित पठन पाठन भौतिक रुपमै
बेनीघाट रोराङ कै बिशालटारमा रहेको चन्द्रोदय माविले कक्षा नर्सरी देखि नै विद्यार्थीहरुलाई भौतिक उपस्थित गराई पठन पाठन गरि रहेको छ । पीसीआर परिक्षणको क्रममा एक जना शिक्षकलाई कोरोना संक्रमण हुँदा पनि पढाई जारि रहेको एक अभिभावकले धादिङपोष्टलाई बताए ।
कोरोनाबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाईएको विद्यार्थीहरुलाई एउटा बेन्चमा दुई जना राखिएको र आलो पालोमा पढाई हुँदै आएको विद्यालयले जनाएको छ ।