
धादिङ साउन ३ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेशले श्रवण १ गतेदेखि दुई पाङ्ग्रे सवारीसाधनको कर वृद्धि गरेको छ ।
मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायत (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म कर बृद्धि गरेको हो ।
मन्त्रालयका अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्स ३,००० रुपैयाँ पुर्याइएको छ । यसअघि यस सेग्मेन्टका सवारी साधनको ट्याक्स अधिकतम २,८०० रुपैयाँ रहेको थियो ।
यस्तै, १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५,००० रुपैयाँ, १५० देखि २२५ सीसीसम्मकाको ६,५०० रुपैयाँ, २२५ देखि ४०० सीसीसम्मकाको अधिकतम ११,००० रुपैयाँ पुर्याइएको छ भने ४०० सिसीदेखि ६५० र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत क्रमशः २०,००० र ३०,००० नै कायम गरिएको मन्त्रालयले जनाएको छ ।
यसका साथै विद्युतीय सवारी साधनमा ३५० बाटदेखि एक हजार वाटसम्मका सवारीमा २,००० रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २,५०० रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३,००० रुपैयाँ ट्याक्स कायम गरिएको मन्त्रालयले जनाएको छ ।
यसको अलवा सवारी दर्ता, सरुवा दर्ता तथा सरुवा सहमति दस्तुरमा निजी, सरकारी, संस्थान र सरुवा सहमति दस्तुर बापत समान ५०० रुपैयाँ ट्याक्स लाग्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
सवारी साधन नामसारी गर्दा गरिने सनाखत दस्तुरमा पनि मोटरसाइकल तथा स्कुटरको ५०० रुपैयाँ नै ट्याक्स लाग्ने मन्त्रालयले जनाएको छ ।
अबिलम्ब शुल्क (फाइन) बापत भने पहिलो ३ महिनाको लागि एक हजार रुपैया लाग्ने र सो अवधि पछि पेश गर्नेलाई २ हजार रुपैयाँ लाग्ने बताएको मन्त्रालयले जनाएको छ ।
