
एजेन्सी असार २३ । जारी युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेनलाई हराउँदै इटाली फाईनल प्रवेस गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटाली फाईनल पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
टाइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । लगत्तै ड्यानी ओल्मोले पनि स्पेनको पहिलो प्रहार पोस्टभन्दा निकै माथि प्रहार गरे । दोस्रो प्रहारमा इटालीका आन्द्रीए बेलोट्टी र स्पेनका जेरार्ड मोरेनो दुवैले गोल गरे ।
इटालीका लिओनार्डो बोनुचीले तेस्रो प्रहारमा गोल गर्दा स्पेनका थियागोले पनि कुनै गल्ती गरेनन् । फेडेरिको बर्नार्डेस्कीले इटालीको चौथो प्रहारमा गोल गर्दा स्पेनका तर्फबाट भने अल्भारो मोराटाले गोल गर्न सकेनन् । मोराटाको प्रहार डोनारुम्माले सहजै बचाए । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गर्दै फाइनलमा स्थान पक्का गरे ।
इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।