
एजेन्सी असार १५ । कोपा अमेरिकाको खेलमा कप्तान लिओनेल मेस्सीले प्रभावशाली प्रदर्शन सँगै अर्जेन्टिनाले बोलिभिया माथि ४-१ को सहज जित दर्ता गर्यो ।
मंगलबार बिहान भएको उक्त खेलमा मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएको खेलमा दुइ गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त गर्यो । बोलिभियाका जस्तीनिअनोले गोमेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा सहजै गोल गर्दै मेस्सीले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ४२ औं मिनेटमा मेस्सीकै गोलमा अर्जेन्टिना ३-० ले अघि बढ्यो ।
खेलको ६० औं मिनेटमा साभेड्राले गोल गर्दै बोलिभियालाई खेलमा फर्काउने संकेत दिएका थिए । जस्तिनियनोको पासमा पहिलो टचमा नै प्रहार गर्ने क्रममा उनले गोलरक्षक अर्मानीलाई बिट गरेका थिए ।
६७ औं मिनेटमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको तीन गोलको अग्रता पुन: स्थापना गरे ।
यस जितसँगै अर्जेन्टिना समूह ए को शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोड्यो । उरुग्वे पनि पाराग्वेमाथि १-० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो । उरुग्वेले ७ तथा पाराग्वेले ६ अंक जोड्यो । ५ अंक जोडेको चिली चौथो स्थानमा रहयो ।
अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरको सामना गर्नेछ । उरुग्वे र कोलोम्बियाले अन्तिम ८ मा खेल्दा ब्राजिलले चिलीको सामना गर्नेछ । पेरुले पाराग्वेसँग खेल्नेछ ।
यस्तै युरोकप अन्तरगत आज नकआउटका अन्तिम दुई खेल हुने छन् । हिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् ।