
अतित सम्झे बनाउँछ मन खिन्न के गर्नु
अत्ति गाह्रो छ यो दुनियाँ चिन्न के गर्नु ।
बरु पिट्नेको हात समाउन सकिएला
बोल्नेको जिब्रो समात्न सकिन्न के गर्नु ।
बोक्रा हेरेर अनुमान नलगाएकै बेस
चल्लामै त भालेपोथी छुटिन्न के गर्नु ।
बेथा नभाको शरीर, दोष नभाको कुल हुन्न
थाप्दैमा रुखबाट पैसा बर्सिन्न के गर्नु ।
झगडाको बीउ रोप्न उधारो दे पुग्छ
हेर्नुस्, तिर्नेले कहिल्यै सम्झिन्न के गर्नु ।
,
जीवन कुमार रोका