शब्दकिरी रअ सेसन्स साउन १६ मा: कविता, अनप्लग्ड संगीत र आत्मीय संवाद एकै मञ्चमा

Avatar photo
Dhadingpost
साउन १५, २०८३

काठमाडौं । काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट एन्ड बार ले शब्दकिरीसँगको सहकार्यमा पहिलो संस्करणको ‘शब्दकिरी रअ (RAW) सेसन्स’ आयोजना गर्ने भएको छ । कार्यक्रम शनिबार, साउन १६ गते (अगस्ट १, २०२६) साँझ ६:३० बजेदेखि एटिक रेस्टुरेन्ट एन्ड बारमा हुने आयोजकले जनाएको छ ।

‘छ आवाज, छ ध्वनि र एउटा आत्मीय साँझ’ भन्ने अवधारणामा आधारित यस कार्यक्रममा फरक–फरक सिर्जनात्मक पृष्ठभूमि र प्रस्तुतिशैली भएका छ जना प्रस्तोता सहभागी हुनेछन् । उनीहरूले मौलिक कविता, अनप्लग्ड संगीत, भावना र जीवनका वास्तविक अनुभूतिलाई दर्शकमाझ प्रस्तुत गर्नेछन् ।

आयोजकका अनुसार कार्यक्रम परम्परागत तथा औपचारिक मञ्चीय शैलीभन्दा फरक हुनेछ । अत्यधिक प्राविधिक सजावट, चर्को प्रकाश र कलाकार तथा दर्शकबीचको दूरीलाई कम प्राथमिकता दिँदै शब्द, स्वर, कथा र प्रत्यक्ष मानवीय अनुभूतिलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रममार्फत कवि, संगीतकर्मी, कथावाचक र श्रोताबीच आत्मीय सम्बन्ध निर्माण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । यसलाई केवल एकपटक आयोजना हुने कविता वा संगीत कार्यक्रमका रूपमा नभई सिर्जनात्मक समुदायलाई जोड्ने दीर्घकालीन अभियानको सुरुआतका रूपमा अघि बढाइएको बताइएको छ ।

आयोजकका अनुसार सिर्जनात्मक अभिव्यक्तिलाई नजिकबाट अनुभव गर्न चाहने साहित्य, संगीत र कला प्रेमीहरूका लागि ‘शब्दकिरी रअ सेसन्स’ नयाँ अनुभव बन्ने विश्वास गरिएको छ ।