धादिङकी सम्झना अर्यालको ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक

Avatar photo
Dhadingpost
भदौ ८, २०८३

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा जन्मिएकी तथा हाल अमेरिकाको कोलोराडोस्थित फोर्ट कोलिन्समा बस्दै आएकी सम्झना अर्यालको शब्दमा रहेको मौलिक तीज गीत ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक भएको छ ।

परदेशमा रहेका नेपाली नारीहरूले तीजका बेला माइतीघर, बाबुआमा, बाल्यकाल र विगतका रमाइला दिनहरू सम्झँदाको भावनालाई गीतले प्रस्तुत गरेको छ ।

परदेशमा तीज आए पनि कामबाट सहजै बिदा नपाउने, कमाएको आम्दानी घरको मोर्गेज तथा दैनिक खर्चमै सकिने र जन्मभूमि तथा माइतीघरबाट टाढा रहनुपर्ने अवस्थालाई गीतमा भावनात्मक रूपमा उजागर गरिएको छ । विदेशमा रहे पनि आफ्नो मौलिक रीतिरिवाज, संस्कार र संस्कृति नबिर्सन तथा साथीभाइ र आफन्तसँग मिलेर तीज मनाउन गीतले प्रेरणा दिएको छ ।

गीतमा समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ भने शब्द सम्झना अर्यालको रहेको छ । गीतको संगीत, एरेन्ज तथा मिक्सिङ बिबी अनुरागीले गरेका हुन् । गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।

गीतको भिडियो निर्देशन मिराज अर्यालले गरेका छन् । भिडियोको सम्पादन तथा भीएफएक्स पनि मिराज अर्यालले नै गरेका हुन् । भिडियो निर्माण श्याम नेपालले गरेका छन् भने छायांकन राजेन्द्र थापाले गरेका हुन् ।

परदेशको व्यस्त जीवनबीच माइतीघरको सम्झना, बाबुआमाप्रतिको माया र नेपाली संस्कृतिप्रतिको आत्मीयतालाई गीतले उजागर गरेको छ । विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन तथा तीज लगायतका चाडपर्व आफ्ना समुदाय, साथीभाइ र परिवारसँग मिलेर मनाउन गीतले आग्रह गरेको छ ।

त्यसैगरी, विदेशमा रहेर मनाइएका तीज तथा अन्य चाडपर्वका दृश्य र सन्देश सामाजिक सञ्जालमार्फत नेपालमा रहेका आफन्त तथा साथीभाइसम्म पुर्‍याउन पनि गीतले प्रेरित गरेको छ ।

परदेशमा रहेका नेपाली नारीको जीवन, माइतीघरको सम्झना र नेपाली संस्कृतिप्रतिको आत्मीय भावनालाई समेटिएको ‘तीज आउँदा माइत गइन्थ्यो’ ले विदेशमा रहेका नेपाली महिलाको भावनालाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।