
धादिङ असार २ । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार सार्वजनिक गरिएको उक्त बजेटमा धादिङ, त्रिशुली, सिन्धुली अस्पतालमा मृगौला रोगिका लागि निशुल्क डायलिसिसको व्यवस्था गरिने उल्लेख गरिएको छ । यस्तै बजेटमा धादिङको त्रिशुली नदीमा पर्यटन प्रवर्धका लागि र्याफ्टिङको लागि बजेट विनियोजन गरिएको समेत उल्लेख गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा पेश गर्नुभएको उक्त बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमध्ये कर तथा राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजश्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख उठ्ने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजश्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।