
धादिङ जेष्ठ ३० । बजार अनुगमन टोलीले आज खाल्टे, फ्याक्से, सुनौलाबजार, धादिङका १६ वटा पसल अनुगमन गरि ३ वटा पसललाई कार्वाही गरेको छ ।
अनुगमनको क्रममा कार्वाही पर्ने पसलहरु निलकण्ठ ५, खाल्टेमा रहेको रामलाल एण्ड सत्यादेवी किराना एण्ड फेन्सीलाई २० हजार, इन्द्र जनरल स्टोरलाई १० हजार र कृष्ण एण्ड सन्सलाई ५ हजार जरिवानामा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु कार्यालयबाट गएको अनुगमन टोलिने मापदण्ड विपरित संचालनमा आएको जनाउँदै ति पसलहरुलाई जरिवाना तिराई कार्वाही गरेको हो ।
यस्तो छ जरिवाना गरिनुको कारण
- यसअघिको अनुगमनको क्रममा दिइएको निर्देशन पालना नगरेको, अनुमति नलिई सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री गरेको, साइनबोर्ड र मूल्यसूची नराखेको, अनुगमन टोलीलाई असहयोग समेत गरेकोले सुनौलाबजारमा रहेको कृष्ण एण्ड सन्सलाई रु. ५ हजार जरिवाना गरिएको ।
- उद्देश्यविपरित मदिराजन्य पदार्थहरु बिक्री गरेको, साइनबोर्ड र मूल्यसूची नराखेको, म्याद गुज्रिएका सामग्रीहरु बिक्री गरेको पाइएकोले सुनौलाबजारमा रहेको इन्द्र जनरल स्टोरलाई रु. १० हजार जरिवाना गरिएको ।
- त्यसैगरी अखाद्य वस्तु लुकाई राखेको गोदाम देखाउन नमानेको, साइनबोर्ड र मूल्यसूची नराखेको, गोदाममा ठूलो संख्यामा म्याद गुज्रिएका सामग्रीहरु फेला परेको, काउन्टर, पसल र गोदामको सरसफाईमा ध्यान नदिएको, अनुमति बिना मदिरा तथा सूर्तीजन्य पदार्थहरु बिक्री गरेको, अनुगमन टोलीलाई असहयोग समेत गरेका कारण निलकण्ठ ५, खाल्टेमा रहेको रामलाल एण्ड सत्यादेवी किराना एण्ड फेन्सीलाई रु. २० हजार जरिवाना गरिएको ।