धादिङ अस्पतालको खोप केन्द्रमा तोकिएको उमेर समुह बाहेकले खोप लगाएपछि विवाद

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २५, २०७८

धादिङबेसी जेष्ठ २५ । धादिङबेसी स्थित जिल्ला अस्पतालको खोप खेन्द्रमा तोकिएको उमेर समुह (६२-६४ वर्ष) बाहिरकालाई पनि स्वास्थ्यकर्मीले खोप लगाई दिएपछि विवाद भएको छ ।

तोकिएको उमेर समुहका जेष्ठ नागरिकहरु खोप लगाउन नपाएर फर्कन थालेपछि धादिङबेसीका सामाजिक अभियान्ताहरु खोप केन्द्रमा पुगेर मापदण्ड भन्दा बाहिरकालाई खोप नलगाउन दवाव दिएपछि विवाद हल भएको थियो ।

हामीले पहिला स्वास्थ्यकर्मी कर्मचारीहरुलाई उमेर नहेरि लगाई दिएका थियौ, यहि बेला अन्य नागरिक पनि के हो ? कम उमेरकाले पनि खोप लगाउन पाईने रहेछ ल हामीलाई पनि खोप लगाई दिन पर्यो भन्दै भिडभाड गर्न थाले आक्रमण गरुला जस्तो गर्न थालेपछि उनीहरुलाई पनि खोप लगाई दिएको खोप केन्द्रबाट एक स्वास्थ्यकर्मीले बताईन् ।

हामी सँग रुदै ति स्वास्थ्यकर्मीले भनिन्, यहि कारण मेरो जागिर जाने भयो । सुरुमा होहल्ला गर्ने धेरै जना थिएनन् हाम्रो सल्लाह उनीहरुलाई खोप लगाई दिएर वातावरण सहज बनाऔं भन्ने भयो त्यहि गरियो पछि झन् धेरै आए र कराउन थाले तनावमा छु जागिर जाने भयो मेरो । ति स्वास्थ्यकर्मीको तनावलाई सम्बन्धित सरोकारवाला निकायले तस्काल सम्बोधन गरोस् स्वास्थ्यकर्मीलाई काम गर्दा तनाव मुक्त बनाउन सबैल पहल गर्न जरुरी देखिन्छ ।

किन खोप केन्द्र अव्यवस्थित ? किन तोकिएको उमेर समुह भन्दा बाहिरका लाई खोप लगाईयो भनेर हामीले स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेललाई प्रश्न गरेका छौं । उहाँ भन्नु हुन्छ, धादिङमा १० हजार खोप आएको हो । ५ हजार दास्रो चरणको लागि लगाउन राखेर ५ हजार खोप धादिङका सबै स्थानीय तहमा पठाईएको हो । सबै स्थानीय तहलाई ६२-६४ उमेर समुहलाई मात्रै लगाउनु र बाँकी बस्यो भने ६० वर्ष उमेर समुहका सम्मलाई लगाउन भनेको छु । नीलकण्ठलाई पठाईएको खोप अन्तरगत जिल्ला अस्पताल खोप केन्द्रमा केहि हो-हल्ला भयो भन्ने सुनेपछि म आफु पनि गएको र त्यस्तो ठुलो विवाद र समस्या केहि रहेनछ ।